मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विजयी, गठबन्धनको हार

म्याग्दी – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा  एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो ।  

    नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाउनुभयो । उहाँका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाउनुभयो । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । 

    लोघेकर दामोदरकुण्ड –१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । 

    पाँच  वडा रहेको लोघेकर दामोदरकुण्डमा एक हजार ४६२  मतदातामध्ये ९८० अर्थात ६७.०३ प्रतिशत मत खसेको थियो । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो । 
 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : २४ बजे