मकवानपुरमा बिना पास चलाइएको एक सय सवारी नियन्त्रणमा

हेटौंडा – मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचनको दिन बिना पास सवारी चलाउने एक सय वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

९० वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गरी १०० वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । 

उनीहरुलाई होल्डमा लिएर कारवाही गरिएको हो । मकवानपुरमा केही ठाउँमा सामान्य भनाभन भएपनि अप्रिय घटना भने नघटेको प्रवक्ता कार्कीले बताए । जिल्लामा रहेका केही मतदान केन्द्रहरुमा मतदान सकिएपनि प्रायः मतदान केन्द्रहरुमा पाँच बजेभित्र लाइनमा बसेकाहरुले मतदान गरिरहेको मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ३४ बजे