रुकुम पूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, माओवादीका तीन नेता पक्राउ

काठमाडौँ ।  एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित तीन जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का वडा अध्यक्ष जयकुमार बुढा, उहाँका भाइ अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो ।

वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेका थिए। अपहरणपछि खोजतलास गर्दा मङ्गलवार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो । महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।

मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि ल्याइएको छ । मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भए पनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुने हुँदै आएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ५५ बजे