सुनको मूल्यमा नयाँ कीर्तिमान

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

दाङ । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । 

मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । 

अनमोललाई उपचारका लागि मङ्गलवार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी, ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी हुनुभएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ ।

बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताउनुभयो । बिरामी उपचारका लागि ढिला गरी हिजो बेलुका मात्र अस्पतालमा आएको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको बताइएको छ । रासस

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : १५ बजे