निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

मंगलबार नेपाली कांग्रेस (बीपी) ले दाहालविरुद्ध मतदातालाई धम्क्याएको भन्दै उजुरी दिएको आयोगले जनाएको छ । आयोगले दाहाललाई सोधेको स्पष्टीकरणमा भनेको छ, ‘यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन ? कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ/हुँदैन ? को उत्तरसमेत २४ घण्टामा दिन निर्देशन दिइएको छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ३१ बजे