अछाम। नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीचको एकता वा तालमेल भनेको घिउ बेचुवा र तरवार बेचुवाको ठगी रहेको ठोकुवा गर्नुभएको छ । चुनावी प्रचारको क्रममा आज आयोजित सभामा बोल्दै नेता रावलले यस्तो ठोकुवा गर्नुभएको हो ।
‘अहिले जसरी तालमेल भइरहेको छ, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीचको एकता वा तालमेल भनेको घिउ बेचुवा र तरवार बेचुवाको ठगी हो,’ रावलले भन्नुभयो । उहाँले माधव नेपालहरुले एमाले छाडेर कांग्रेसको शरणमा जाने जस्तो अत्यन्तै ठूलो भूल गरेको पनि बताउनु भयो । आफू पार्टीभित्र अन्तर संघर्ष गर्ने तर घर आगो लगाएर हिडन नसक्ने भन्दै माधव समुहको भण्डाफोर गर्नुभयो । नेता रावलले पार्टी बिभाजनको बेला अछामका नेता कार्यकर्ता रु जनतामाझ बसेर अन्तिम फैसला गर्ने सहमतिबिपरित शेरबहादुर कुँवरलगायतका केही मानिसहरु एमाले छाडेर भागेको र अछामी जनतालाई धोका दिएको बताउनु भयो ।
‘माधव नेपालले पार्टी फुटन लाग्यो, अव जनतालाई सोध्नुपर्यो भनेर झपट रावल र शेरबहादुर कुँवरसँग भने, पर्सिपल्ट अछाममा आउने कुरा भयो तर भोलिपल्टै फोन गरेर पार्टी फुटन लाग्यो, एमाले छाड भने,’ रावलले भन्नुभयो । उहाँले अछामका जनताले सूर्य चिन्हमा भोट हालेर आफूलाई जिताएर पठाएकै कारण एमालेमै रहेको र एमालेको बिकल्प नभएको बताउनु भयो ।
‘अछामका जनताले गाँस कटाएर भीम रावल बनाए, हजुर म त्यो आछामीका मायालाई धोका दिन सक्दिन भने,’ रावलले भन्नुभयो, ‘अध्यक्ष र मन्त्री बन्न अफर आएको थियो समाजवादीबाट । तर अस्वीकार गरें । मन्त्री जो पनि हुन्छ, तर जनताको मायालाई धोका दिएर मन्त्री बन्ने कुरा मलाई स्वीकार्य भएन, पदको पछि कुदने मान्छेले जनताको कहिल्यै भलो गर्दैन, आफ्नो लागि मात्रै गर्छ ।’
बैशाख ३० गतेको निर्वाचनमा सूर्यमा मतदान गरी एमालेबिरोधी शक्तिलाई जवाफ दिन पनि नेता रावलले आग्रह गर्नुभयो । एमाले कानुनी शासनमा बिश्वास गर्ने भए पनि चुनावमा कोही शक्ति देखाउन आए ठेगान लगाइ दिन पनि उहाँले आग्रह गर्नुभयो । ‘हामी कानून मान्छौं, कानून र बिधिको शासनमा बिश्वास गर्छाैं, तर कोही कोही बल देखाउन कोही आयो भने हामीले पनि जवाफ दिनुपर्छ, त्यस्तो भए ठेगान लगाइ दिनोस, भीम रावल पछाडि छ,’ रावलको भनाई थियो ।
नेता रावलले नेकपा एसतिर लाग्नेहरु कांग्रेसको पुच्छर बनेर आफ्नै बर्वादीतिर लागेको बताउनु भयो । ‘मेरो कुरा मानेर एमाले नछाडेको भए आज समाजवादीका साथीहरुले ‘भोट केमा रुखमा, कता जाने दुःखमा’ भन्नुपर्ने दिन आउने थिएन नि,’ रावलले भन्नुभयो ।
प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार ७ : १७ बजे
प्रतिक्रिया