हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

गाउँपालिका अध्यक्षका उम्मेद्वार एमाले प्रवेश

दमक- निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एसकागौरीगञ्ज गाउँपालिकामा अध्यक्षका उम्मेदवार भूपनारायण राजवंशी उम्मेद्वारी फिर्ता गरेर एमालेमा प्रवेश गर्नुभएको छ ।
गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी उहाँले एमालेमै फर्किएको घोषणा गर्नुभएको हो । एमालेका केन्द्रीय सदस्य गोविन्द थापाको पहलमा राजवंशी दम्पती एमालेका उम्मेद्वार विजय अग्रवाललाई समर्थन गर्दै एमालेमा फर्कनु भएको हो ।

भूपनारायण गौरीगञ्जका लोकप्रिय नेता मानिनुहुन्छ । गौरीगञ्जका जनतामा लोकप्रिय रहे पनि उहाँ संलग्न रहनुभएको समूहको भने गौरीगञ्जमा प्रभाव थिएन । भूपनारायण पनि एमालेमा फर्कनुभएपछि गौरीगञ्जमा माधव समूहको अस्तित्व साइनबोर्डमा समेत नरहने अवस्था सिर्जना भएको छ ।
झापाका कतिपय ठाउँमा माधवको समूहले उम्मेदवार उठाएको छ ।

नेकपा एमाले फर्किएपछि भूपनारायणले एक विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :-

म भूपेन्द्रनारायण राजवंशीलाई गौरीगञ्ज गाउँपालिकाका जनताले गर्नुभएको अपार समर्थनलाई हार्दिक अभिनन्दन गर्दछु । मैले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । मेरो उम्मेदवारीलाई गाउँपालिकाका जनताले दिनुभएको समर्थनबाट म अति नै उत्साहित भएको छु ।

आदरणीय गौरीगञ्जवासी नागरिकहरु,

१. यो निर्वाचनमा म व्यक्तिगत रुपमा निर्वाचित हुने नै थिएँ । तर, म एकजना व्यक्ति निर्वाचित हुनु या पराजित हुनु समग्र राष्ट्रिय राजनीतिका लागि कुनै ठूलो कुरा होइन । यो निर्वाचनमा कुन पार्टी निर्वाचित हुन्छ भन्ने नै मुख्य कुरा हो । म एकजना व्यक्ति निर्वाचित हुने तर आफू लागेको पार्टी चाहिँ समाप्त हुने कुरा मलाई मान्य भएन । मलाई पार्टीमा नै लागेको छु भन्ने लागेको थियो तर समयक्रमले म संलग्न भएको पार्टी वास्तवमा पार्टी नभएर नेपाली कांग्रेस र माओवादी केन्द्रले सिर्जना गरेको एउटा गिरोह मात्र रहेछ ।

२. नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।

३. म एक इमानदार जनसेवक कम्युनिष्ट हो । म सत्य र तथ्य सदैव स्वीकार गर्दछु । म जनतालाई स्वीकार गर्दछु । म संलग्न रहँदै आएको माधव नेपालजीको समूहले मलाई सहित धेरैजना कमरेडहरुलाई भ्रममा पार्दै आयो । गुमराहमा पार्दै आयो । सत्य के रहेछ भने नेपाल र नेपाली जनताको सच्चा सेवक पार्टी नेकपा एमाले नै रहेछ । नेकपा एमालेको निर्माणमा मेरो पनि रगत पसिना सिंचित भएको गौरीगञ्जवासी जनतालाई थाहा भएकै कुरा हो । सही बाटोमा नेकपा एमाले नै छ भनेर गौरीगञ्जवासीले भनिरहेकै हुन् । जनताको इच्छा, राष्ट्रिय राजनीतिको आवश्यकता, गौरीगञ्जवासीको विकास निर्माण र समृद्धिको चाहना मुताबिक म आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु ।

४. नेपाली जनता तथा गौरीगञ्जका जनताले नेकपा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीले विगतमा गर्नुभएको कामको वर्णन गरिरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरु गरेको छ । यो तथ्यलाई ढाकछोप गर्ने प्रयास कांग्रेसले गर्नुलाई म अन्यथा ठान्दिन । तर, माधवकुमार नेपाल तथा प्रचण्डजीहरुले समेत निजी स्वार्थ र कुण्ठाबाट प्रेरित भई केपी शर्मा ओली तथा नेकपा एमाले विरुद्ध भ्रम फैलाउने अभियान चलाइरहनुभएको छैन । सत्यको ढाकछोप गरेर मिथ्याको पक्ष लिन मैले सकिनँ । त्यसैले आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु ।

५. भ्रममा परेर, बाटो बिराएर नेकपा एमालेबाट बाहिरिनुभएका समस्त साथीहरुलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै फर्कन हामी आव्हान गर्दछौं ।

आदरणीय गौरीगञ्जवासी तथा समस्त नेपाली जनताहरु,

म के अपिल गर्दछु भने यो स्थानीय चुनाव सत्य र झुठ बीचको लडाई हो, सत्य र असत्य बीचको लडाई हो । सत्य र असत्य बीचको लडाई पर्दा म जस्तो जनसेवक राजनीतिकर्मीले असत्यको पक्ष किमार्थ लिन सक्दिनँ । त्यसैले मैले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने घोषणा गरेको छु ।

गौरीगञ्जका जनतालाई म पटक्कै भ्रममा नपर्न अपिल गर्दछु । गौरीगञ्जका जनताको हित, गौरीगञ्जको विकास र समृद्धि नेकपा एमालेको नेतृत्वबाट मात्र सम्भव छ भन्ने ठहर म तथा मेरा सहकर्मी कमरेडहरुका रहेको छ । त्यसैले हामी उम्मेदवारी त्याग गरेर नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछौं । नेकपा एमालेको अब निर्वाचित हुने टिम मार्फत हामी गौरीगञ्जको विकास निर्माण र समृद्धिमा लागिपर्ने छौं ।

स्थानीय तहको चुनावमा सूर्य चिन्हमा मतदान गरेर विकासप्रेमी, जनप्रेमी पार्टी नेकपा एमालेलाई विजयी बनाउन हार्दिक अपिल गर्दछौं ।

नेकपा एमाले जिन्दावाद ।

राजनेता केपी शर्मा ओली जिन्दावाद ।

गौरिगञ्जका जनता जिन्दावाद ।

नेपाली जनता जिन्दावाद ।

सूर्य चिन्ह जिन्दावाद ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : २९ बजे