चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन् :अध्यक्ष ओली

पोखरा ।  नेकपा एमालेका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री  केपी ओलीले पाँचदलीय गठबन्धनले मतपेटिका लुट्न सक्ने बताउनुभएको छ । 

‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ चुनावमा पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

गठबन्धनले धाँधली गर्न सक्ने बताउँदै त्यसतर्फ सचेत रहन उहाँले कार्यकर्तालाई चनाखो हुन आग्रह गर्नुभएको छ ।  ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उहाँ भन्नुहुन्छ, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उहाँले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाउनुभयो। ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस्’, ।  

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : २३ बजे