सवारी दुर्घटनामा २ जनाको मृत्यु, २६ जना घाइते  

काठमाडौं । उदयपुर, कैलाली र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सडकमा प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कैलालीको भजनी नगरपालिका–६ भजनी जोशीपुर सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचार क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सिन्धुलीको तिनपाटन गाउँपालिका–११ आकासे भन्ने स्थानमा प्रदेश २ –०३०००१ त ४६७० नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा ट्याक्टर चालकसहित २५ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएकामध्ये  ९ जनाको प्राथमिक स्वास्थ्य चौकी लाम्पान्टारमा र ११ जनालाई थप उपचारका  लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ । पाँच जना उपचार पश्चात डिश्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : २४ बजे