देश विकासका लागि एमालेलाई मत दिन आग्रह

डोटी । नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ ।

नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सो आग्रह गर्नुभएको हो । 

उहाँले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताउनुभयो ।

उहाँले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गर्नुभयो । 

पूर्व मन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गर्नुभयो । त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उहाँले गर्नुभयो ।

उहाँले आफ्नो गाउँ ठाउँको विकास गर्ने र स्थानीय स्तरमा जनताका समस्या र पिर मर्कामा साथमा रहन सक्ने उम्मेदवार छान्न आग्रह गर्दै भन्नुभयो, “स्थानीय तह भनेका तपाईँहरूका घर आँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला । ” रासस

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ५० बजे