सत्तारुढ दल निकटका पाँच पत्रकार सङ्गठनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

​​​​​​​काठमाडौँ । सत्तारुढ दल निकटका पाँच पत्रकार सङ्गठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

निर्वाचन आयोगले जारी गरेको बुलेटिन अनुसार आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदातालाई अपिल गरी विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टा स्पष्टीकरण पेस गर्न जवाफ माग गरेको हो ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

आयोगले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत सङ्घ सङ्गठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लङ्घन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ, मिल्दैन ? भन्दै पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेस गर्न आग्रह गरेको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गर्दै ती पाँच सङ्गठनका अध्यक्षले यही बैशाख २४ गते एक संयुक्त विज्ञप्ति जारी गरी गरेका थिए ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (घ) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : १७ बजे