दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

गणेशबहादुर स्मृति फुटबलको उपाधि जुगेडीलाई 

भरतपुर । पाँचौँ स्वर्गीय गणेशबहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको उपाधि जु एफसी भरतपुर २९ जुगेडीले जितेको छ । 

आइतबार सम्पन्न फाइनलमा टाइगर युवा क्लबलाई ३–० ले पाखा लगाउँदै जुगेडी च्याम्पियन बनेको हो । जुगेडीको जितमा अनुज भण्डारी, रन्जन पुन र पदम भट्टराईले एक/एक गोल गरे । 

भरतपुर ११ कैलाश टोलस्थित युनिक क्लबको मैदानमा भएको फाइनलमा तिनै गोल पहिलो हाफमा भएको थियो । खेलको २६ औँ मिनेटमा अनुजको गोलबाट जुगेडीले खेलमा अग्रता लियो । ३३ औँ मिनेटमा रन्जनले अग्रता दोब्बर बनाए ।३७ औँ मिनेटमा पदमले गोल गरेपछि जुगेडी ३-० ले विजयी भयो । जुगेडीका सुमित श्रेष्ठ म्यान अफ दि म्याच भए । 

विजेता जुगेडीले एक लाख २० हजार रुपैयाँ प्राप्त गरेको छ ।  उपविजेता टाइगर क्लबले ६० हजार प्राप्त गरेको प्रतियोगिता संयोजक निर्मल अंगाईले जानकारी दिनुभयो । 

टाईगरका रोजल दाहाल प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । जुगेडीका शङ्कर राई उत्कृष्ट डिफेन्डर, जुगेडीकै रोशन मगर उत्कृष्ट गोलरक्षक, अनुज भण्डारी उत्कृष्ट स्ट्राईकर, नारायणी मोटर्स युनिक क्लबका सुजन बराम उदयमान खेलाडी, जुगेडीका सुमित श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उनीहरूले नगद तीन/तीन हजारसहित शिल्ड र मेडल प्राप्त गरे । 

युनिक क्लबको आयोजनामा भएको प्रतियोगितामा चितवन, नवलपुर र मकवानपुरका १६ टोलीको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : २३ बजे