दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

दाङ।  आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । 

निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार चुनावका लागि जिल्लाभर जनपद, म्यादी प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रि«य अनुसन्धान र नेपाली सेना गरी कूल तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको भित्री घेरामा जनपद र म्यादी प्रहरी सुरक्षाका लागि खटिने तथा बाहिरी घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो । 

त्यस्तै निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी टोलटोलमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखिएको बताइएको छ भने निर्वाचन विशेष सुरक्षा योजना तयार गरी गस्ती बढाइएको छ । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनका लागि जिल्लाको सुरक्षाको व्यवस्था सुदृढ पारिएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारी लागू गरिसकेको बताउनुभयो । उहाँले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या लगायतलाई मध्यनजर गरी सुरक्षा विश्लेषण गरी १३६ संवेदनशील, पाँच अतिसंवेदनशील र ११ सामान्य मतदानस्थल वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएकोसमेत जानकारी दिनुभयो । 

त्यस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी एउटा मतदान केन्द्रमा आठदेखि ३८ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ रेग्मीले बताउनुभयो । उहाँले भारतसँग सिमाना जोडिएका नाका क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता बढाएको जानकारी दिँदै मतदान दिनको ४८ घण्टा अगाडि नाकाबन्द गरिने बताउनुभयो । 

 “निर्वाचनअघि निर्वाचनको दिन र निर्वाचनपछिको सबै सुरक्षाको उचित प्रबन्ध मिलाइसकेका छौँ”, प्रजिअ रेग्मीले भन्नुभयो । निर्वाचनका लागि जिल्लामा तीन हजार ६६८ कर्मचारीलाई परिचालन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । 

जिल्लामा कूल ४६१ मतदान केन्द्रका लागि उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिएका हुन् । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि प्रशिक्षण दिइ जिम्मेवारीसमेत बाँडफाँट गरिसकेको  निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा खटिने ९५० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार एउटा मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी गरी पाँच सरकारी कर्मचारी र तीन स्वयंसेवक परिचालन गरिएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् ।

पाँच मतदान केन्द्र महिलाको जिम्मामा

स्थानीय तह निर्वाचनका लागि जिल्लामा पाँच मतदान केन्द्रमा  अधिकृतसहित सबै महिला कर्मचारीलाई जिम्मेवारी प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ अरनीको मैदानमा रहेको मतदान केन्द्र ‘घ’मा माया श्रेष्ठ र सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतमलाई तोकिएको छ । सो मतदान केन्द्रमा दुई सहायक कर्मचारी र एक सहयोगी पनि महिला नै रहनुभएको छ । 

त्यस्तै घोराही उपमहानगरपालिका–१६ अम्बापुरमा ‘क’ मतदान केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारीलाई तोकिएको छ । त्यसैगरी दुई सहायक कर्मचारी र एक सहयोगी पनि महिलालाई नै जिम्मेवारी दिएको बताइएको छ । 

सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा मोतीकुमारी विश्वकर्मालाई  मतदान अधिकृत र विमलाकुमारी पोखरेललाई सहायक मतदान अधिकृतको जिम्मा दिइएको छ । सो मतदान केन्द्रमा दुई जना सहायक कर्मचारी एक सहयोगी पनि महिलालाई नै तोकिएको छ । 

 सोही विद्यालयकै ‘ग’ मतदान केन्द्रमा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनीलाई तोकिएको छ । उक्त केन्द्रमा सहायक कर्मचारी दुई र एक सहयोगी पनि महिला नै तोकिएको बताइएको छ । 

उता लमही नगरपालिका–५ को खिमबहादुर मावि कोलही मतदान केन्द्रमा मतदान अधिकृतमा सम्झना शर्मा र सहायक मतदान अधिकृतमा सुशीला शाह रहनुभएको छ । दुई सहायक र एक सहयोगी पनि महिला रहनुभएको निर्वाचन कार्यालयले जनाएको छ । महिला कर्मचारी खटिएका मतदान केन्द्रमा महिला प्रहरी नै खटाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । 

उहाँका अनुसार सुरक्षाकर्मी र कर्मचारी आवश्यक निर्वाचन सामग्री लिएर आगामी मङ्गलबार पठाइने छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् भने चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् । त्यसमा महिला मतदाता दुई लाख नौ हजार ९९ र पुरुष मतदाता दुई लाख सात हजार ९९ र दुई जना तेस्रोलिङ्गी रहेका छन् । 
 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३० बजे