कञ्चनपुरका नौवटै पालिकामा मतदान अधिकृतसँगै मतपत्र पठाइने

महेन्द्रनगर। आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरका नौवटै पालिकाका लागि निर्वाचन सामग्री तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका नौ वटै पालिकाका लागि मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिएको बतानुभयो ।

“मतपत्र र मतपेटिका सम्बन्धित पालिकाका लागि  छुट्याएर राखेका छौँ ।” उहाँले भन्नुभयो,“मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउने काम भइरहेको छ । “तीन लाख एक हजार १५० मतपत्र रुजु गरी मिलाएर राखेका छौँ ।” मुख्य निर्वाचन अधिकृत धामीले  भन्नुभयो,“ अहिलेसम्म निर्वाचनको काम द्रुतगतिमा अघि बढेको छ ।”

यहाँका पालिकामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।    निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपाराधिक गतिविधि नियन्त्रण गर्न निर्वाचन सुरक्षा निकायले जिल्लाभर सुरक्षा सर्तकता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ निर्वाचनको ४८ घण्टा अघि नेपाल–भारत सीमा बन्द हुने भएको छ । निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ । निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।
 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ३६ बजे