हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

किन गरे जसपा अध्यक्ष द्वय यादव र भट्टराईले संयुक्त चुनावी सभा बहिस्कार ? 

काठमाडौँ । काँग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बहिस्कार गर्दै आउनुभएको छ ।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौँको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गर्नुभएको छ  । 

उहाँहरूले पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गर्नुभएको छ । जबकि, काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहनुभएको छ । उहाँहरूले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहनुभएको छ ।

तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृह जिल्लामा खटिनुभएको छ । उक्त पार्टीका एक नेता राज किशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जानुभएको छैन ? त्यसबारे थाहा नभएको बताउनुहुन्छ । 

“गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला”, यादवले भन्नुभयो, “तालमेललाई लिएर केही असन्तुष्टि होला कि ?”

शुक्रवार जसपाका सङ्घीय परिषद् अध्यक्ष डा.भट्टराईले तालमेलबारे असन्तुष्टि जनाउनुभएको थियो । “पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ”, अध्यक्ष डा. भट्टराईको असन्तुष्टि ट्‍वीटरमा पोखिएको थियो । 

असन्तुष्ट भएकै कारण उहाँले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृह जिल्ला गोरखा पुगेर उहाँ आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहनुभएको छ । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएको छैन ।

पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहनुभएको छ । 

अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुनुहुन्छ । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बन्नुभएको छ । गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनावी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील हुनुभएको हो । 

यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार हुनुहुन्छ । उहाँहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा हुनुहुन्छ। 

 

 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ४२ बजे