‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

समाजवादी आन्दोलनको लक्ष्य प्राप्तिको कसीमा एमाले र स्थानीय तहको निर्वाचन

अबको ५ दिनपछि स्थानीय तहको निर्वाचन सम्पन्न हुनेछ ।  मतदानको मिति जति नजिक छ, चुनावी प्रचार–प्रसारको सरगर्मी पनि उत्तिकै उत्कर्षमा छ । सबैजसो राजनीतिक दलहरूले साना–ठुला आमसभाहरू पनि गरिरहेका छन् । मौन अवधि सुरु हुन पनि अब धेरै समय छैन । लोकतान्त्रिक शासन व्यवस्था अन्तर्गत हुने निर्वाचनमा तोकिएको मापदण्ड अनुरूप सबैले चुनावी प्रचार–प्रसार गर्नु स्वाभाविक मानिन्छ ।  दलहरूले जनतासामु आफ्ना राजनीतिक सिद्धान्त, नीति तथा कार्यक्रम र प्रतिबद्धता सम्बन्धी प्रचार—प्रसार गर्नु पनि अनिवार्य ठानिन्छ । तर अहिले हाम्रा राजनीतिक दलहरूले आफ्ना  कार्यक्रम जनतासामु लैजानु त कता हो कता केवल एक अर्काप्रति लाञ्छना, आरोप र  गाली गलोजमा मस्त छन् । यस्तो हुनु लोकतान्त्रिक शासन पद्धति, आचरण र व्यवहार विपरीत हो ।  र, यो असभ्य र राजनीतिक कुसंस्कार पनि हो । 

खासगरी अहिलेको चुनावी प्रतिस्पर्धा मूलतः नेकपा एमाले र ५ दलीय गठबन्धनबीच देखिन्छ । यो स्वाभाविक पनि छ । लामो लोकतान्त्रिक अभ्यासमा पोख्त नेकपा एमाले सामु ५ दलीय गठबन्धन रक्षात्मक स्थितिमा रहेको छ । यो कुरा गठबन्धनका दलहरूको नेताहरूको अभिव्यक्तिबाट पनि स्वतः सिद्ध छ  । पाँच दलीय गठबन्धनले राज्य शक्तिको सम्पूर्ण शक्ति लगाई एमाले विरुद्ध लाग्दै गर्दा पनि सभाहरूमा नेकपा एमालेको पक्षमा जनलहर उत्साहपूर्ण छ । 

स्पष्टतः दुई धु्रयीय शक्तिहरूको बीचको टकराब निर्वाचनमा प्रकट भएको छ । एकातिर राष्ट्रवादी तथा प्रगतिशील र लोकतान्त्रिक धारको नेतृत्वमा रहेको सबैभन्दा ठुलो वामपन्थी दल नेकपा एमाले र बुर्जुवा एवं यथास्थितिवादी दक्षिणपन्थी धारको नेतृत्वमा रहेको नेपाली काँग्रेस र उसको छत्रछायामा टिकेको माओवादी केन्द्र, जसपा र माधव नेपालको गुटबीचको चुनावी प्रतिस्पर्धा छ ।  

अघिल्लो निर्वाचनमा जनताले अस्वीकार गरेको दल नेपाली काँग्रेससँग गठ जोड गर्न पुगेका अवसरवादी  पुष्पकमल दाहाल र माधव नेपालहरू अहिले कुनै विचार र सिद्धान्त जनताबीच लैजानु भन्दा पनि नेकपा एमाले र  अध्यक्ष के.पी. शर्मा ओलीलाई सत्तोसराप गर्न तल्लीन छन् । अदालतको परमादेशबाट सत्तारुढ हुन पुगेका नेपाली काँग्रेस, नेकपा माओवादी, माकुनेको एकीकृत समाजवादी लगायतका दलहरूले के.पी ओलीलाई गाली गर्नु नै आफ्नो जीवन पद्धति ठानेका छन् । 

यिनीहरूले आफ्नो भाषणको अधिकतम समय ओलीलाई गाली गर्नमा खर्चेका छन् । आफूलाई लोकतान्त्रिक पार्टी भन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका मन्त्रीहरू पनि एमाले विरुद्ध निरन्तर जाइ लागेका छन् । यसअघि केही आस लाग्दा भनिएका काँग्रेसी युवा नेता गगन  र विश्वप्रकाशहरू पनि गालीगलौजको अपसंस्कृतिलाई मलजल गर्दै छन् । 

वस्तुतः पाँच दलीय गठबन्धनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मास्न लागेको तथा वर्तमान शासन प्रणालीलाई नै उल्टाउन खोजेको र तानाशाह भएको जस्ता आरोपहरू लगाइरहेका छन् । उनीहरूले पूर्व प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमा जान खोजेको कदमलाई प्रतिगमन भनिरहेका छन् । के उनीहरूले भने जसरी  ओली तानाशाह हुन् ? के उनले वास्तवमै प्रतिगमन गरी वर्तमान लोकतान्त्रिक गणतन्त्रलाई नष्ट गरी राजतन्त्र ल्याउन चाहेका थिए  ? 

यावत प्रश्नहरू अनुत्तरित यक्ष प्रश्न नभई स्वतः उत्तरित छन् । ओलीका हरेक गतिविधि एवं नेकपा एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त र व्यवहारले उनीहरूको जवाफ दिइसकेको छ । उनीहरूको आरोपको ठिक विपरीत यथार्थमा आफू प्रधानमन्त्री हुँदा ओलीले मुलुकमा लामो समयदेखिको राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेपलाई अन्त्य गरी नेपाललाई एक सबल, स्वाधीन, स्वावलम्बी तथा स्वाभिमानी र समृद्ध राष्ट्र  बनाउन चाहेको प्रष्ट हुन्छ । यसका साथै, उनको नेतृत्वको सरकारले सन् १९६० देखि भारतीय अतिक्रमणमा परेको भूमि फिर्ता ल्याउन आधार तयार गर्न  साहसिक प्रयास गरेको पाइन्छ ।  

ओलीले नेपाली भूमि कालापानी र लिम्पियाधुरा, जसलाई अघिका शासकहरूले नेपालको नक्साबाट समेत गायब पारेका थिए, त्यसलाई समेटी नयाँ चुच्चे नक्सा जारी गरी ऐतिहासिक कार्य गरेका छन् । त्यस्तै, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा राखी विकासका पूर्वाधारहरूको सकारात्मक थालनी गरेका छन् ।  २०७२ सालको भूकम्पले भत्काएका सम्पदाहरू तथा संरचनाहरू पुन निर्माण उनकै नेतृत्वमा भएका छन् । उनले सुरु गरेका रणनीतिक महत्त्वका सडक, विद्युत्, रेलमार्ग तथा विमानस्थलहरूको निर्माण केही सम्पन्न र केहीमा कार्य भइरहेका छन् । सीमा रक्षाको लागि सीमा सुरक्षा बलको विस्तार र चौकीहरू स्थापना गरिएका छन् । अमलेखगञ्जदेखि सिमरासम्मको पेट्रोलियम पाइप लाइन जडान भई सञ्चालनमा आइसकेको र त्यसलाई विस्तार गरी चितवनसम्म पुर्‍याउने गरी योजना बनेको छ ।

त्यस्तै जन्मँदैमा कोही श्रेष्ठ र वंशका आधारमा शासन गर्न कसैले पाउँदैन भन्ने स्पष्ट रूपमा पैरवी गरिरहेका छन् ।  निरन्तर रूपमा आइरहने उनका यी अभिव्यक्तिले राजतन्त्रको विरोध र गणतन्त्रको संस्थागत गर्ने पक्षमा जोड दिइरहेको छ ।  राष्ट्रपति जस्तो गरिमामय संस्थामा आक्रमण भइरहँदा निरन्तर त्यसको बचाउका लागि लाग्दा कसरी उनले राजतन्त्र ल्याउन खोजे ? सङ्घीयता संस्थागत गर्नका लागि थुप्रै कानुन निर्माण भएका छन् ।

यो कसरी सङ्घीयता विरोधी कदम भयो ? देशमा फैलिएको अशान्ति र पृथकतावाद अन्त्य गराई वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउने ओली कसरी संविधान मास्ने र प्रतिगमनकारी भए ? नेपालमा सुरुङ मार्ग निर्माणको सार्थक थालनी, मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउने लगायतका अत्यन्त महत्त्वका कार्यहरू गरिरहेको अवस्थामा कसरी ओलीले केही गरेनन् ? यसलाई नजरअन्दाज गर्न मिल्छ ? त्यसैगरी अघिल्लो पटक भारतीय नाकाबन्दीको अन्त्य तथा पछि चुच्चे नक्सा जारी र एम.सी. सी. को सन्दर्भमा राष्ट्रिय हितको पक्षमा संसद्मा छलफल गराई तदनुकूल पारित गराउने अडान लिने  ओली र नेकपा एमाले कसरी  राष्ट्रघाती भयो ?  जनताले पत्याउने कुरै भएन !  यथार्थमा यी आरोपहरू एकाङ्गी तथा शत्रुतापूर्ण र पूर्वाग्रही छन् । 

वास्तवमा ओली सरकारले देशको राष्ट्रियता रक्षा सम्बन्धी र जनताको मन छुने गरी गरेका कार्यहरूबाट केहीलाई छटपटी भएको छ । नेपालमा सङ्गठित रूपमा सधैँ राजनीतिक  अस्थिरता कायम गर्ने बाह्य शक्ति र आफूले सरकारको नेतृत्व गर्दा केही गर्न नसकेकोमा हीनताबोध र कुण्ठाग्रस्त माकुने र प्रचण्डहरूलाई ओलीको कार्यशैली मन परेन । 

फलस्वरुपः पारिवारिक हितमा बढी र देशको बारेमा कम चिन्ता गर्ने माकुने र प्रचण्डहरू ओली सरकारलाई अपदस्थ गर्नका लागि प्रयोगमा ल्याइए । यसका लागि सर्वोच्च अदालत र सभामुखलाई समेत प्रभाव पारेको कुरा प्रष्ट छ  । उनीहरूको प्रतिकूल हुने न्यायिक कार्य रोक्नका लागि प्रधान न्यायाधीशलाई महाअभियोग लगाएर त्यत्तिकै संसद्मा थन्काइएको छ । एमालेले कारबाही गरेका सांसदहरूको मुद्दालाई अदालतले टार्दै आएको छ ।  जनतासामु यी तथ्यहरू प्रष्ट हुँदाहुँदै पनि नेकपा एमाले र यसका अध्यक्षलाई चौतर्फी आक्रमण र घेराबन्दी गर्नुका पछाडि यिनीहरूमा रहेको राष्ट्र र जनविरोधी निहित स्वार्थ नै हो ।

नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धी राजनीतिक दल नेकपा एमाले भएकाले आफ्नो अस्तित्व रक्षाका लागि उसले एमालेलाई आक्रमण गर्नु अनौठो भएन । काँग्रेस एमालेलाई कमजोर नबनाई बलियो हुँदैन । तर अचम्म लाग्दो त के छ भने, समाजवाद स्थापना गर्ने दिशामा के.पी. ओलीले केही कामै गरेनन् भनेर दिनरात सराप्ने प्रचण्ड, माकुने र झलनाथहरू नेपाली काँग्रेसको नेतृत्वमा दक्षिणपन्थी गठबन्धन गरेर समाजवाद आउँछ भनी जनतालाई झुक्याइ रहेका छन् । 

एकातिर देशको सबैभन्दा ठुलो वामपन्थी शक्ति नेकपा एमालेलाई कमजोर बनाउनु र अर्कोतिर जनवादी राज्य व्यवस्था र समाजवाद आउँछ भन्नु हुटिट्याउँले आकाश थाम्छु भने जस्तै हो ! प्रचण्ड माकुने गुट त केवल निजी स्वार्थमा लिप्त भएको पछिल्ला दृष्टान्तले स्पष्ट पार्छ । जनताले सोध्नु पर्ने भएको छ,  के आफ्नी छोरीलाई मेयर  नबनाएमा देश दुर्घटनामा  जान्छ भन्दै जनतालाई धम्काउँदैमा समाजवाद आउने हो ? अमुक व्यक्तिलाई मेयर बनाउने र दक्षिणपन्थी गठबन्धन १५ र २० वर्षसम्म कायम राखेर जान्छु भन्ने पात्रले समाजवाद ल्याउँछ ? आफ्ना परिवारका सदस्य र नातागोतालाई मेयर र राजदूत बनाउँदैमा समाजवाद कसरी आउँछ ? कसैका लागि ‘कम्फोर्टबल’ भएर समाजवादी क्रान्ति र राष्ट्रियताको संरक्षण कसरी हुन्छ ? 

वास्तवमा नेपाली काँग्रेस निजीकरण र खुला बजार अर्थतन्त्रमा विश्वास गर्ने भएकाले उसलाई समाजवादी अर्थतन्त्रमा जाने कुनै रुचि पनि छैन । संविधानमा व्यवस्था गरिएको समाजवाद उन्मुख अर्थव्यवस्थालाई सैद्धान्तिक रूपमा काँग्रेसले स्वीकारे पनि ऊ खुला बजार अर्थनीतिबाट पछाडि हट्दैन । 

त्यसैले, यो गठबन्धन कायम गरेर समाजवाद ल्याइन्छ भन्नु फगत जनतालाई ढाँट्ने र व्यक्तिगत स्वार्थपूर्तिका लागि मुलुकको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने कुकृत्य बाहेक केही होइन । दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका प्रचण्ड र माकुने र झलनाथहरूबाट समाजवादी क्रान्ति हुन्छ भन्नु छट्टु स्यालको कथा जस्तै हो । आफ्नो स्वार्थ पूरा नहुँदा ‘देश नै दुर्घटनामा जान्छ’ भनी जनतालाई ब्लेकमेल र धम्काउँदैमा अब कसैले पत्याउने वाला छैन । अहिलेका जनता सचेत र सजग छन् ।  

तसर्थ, नेपाली जनताले आफ्ना जनप्रतिनिधि चुन्दा विवेक प्रयोग गर्नेछन् । समाजवादी क्रान्तिका लागि देश र जनविरोधी दक्षिणपन्थी, अवसरवादी र अराजक झुण्डको पराजय अनिवार्य छ । अनि मात्र वास्तविक रूपमा समाजवाद उन्मुख राज्य व्यवस्था कायम गर्नका लागि सहज हुनेछ । अहिलेको गठबन्धनले व्यवस्थापिका, कार्यपालिका र अदालतलाई समेत बन्धक बनाइरहेको छ । राज्यका हरेक अङ्गमा हस्तक्षेप र भ्रष्टाचारपूर्ण कार्य गरिरहेको छ । विकास र समृद्धिको मार्गमा अवरोध खडा गरिरहेको छ । 

त्यसैले पनि यो प्रतिक्रियावादी गठबन्धनलाई तलैदेखि उखेल्नका लागि अहिलेको  नेपालको वामपन्थी आन्दोलनको मूल प्रवाह नेकपा एमालेलाई विजयी गराउनु आवश्यक छ । विजयको त्यही द्वारको प्रवेशबाट नै कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै विकास र समृद्धि मार्फत वास्तविक रूपमा समाजवाद स्थापना हुनेछ ।  

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : २२ बजे