निर्वाचनमा कर्मचारीलाई पायकपर्ने ठाउँमा खटाउन माग

कञ्चनपुर। नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ । 

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि वैशाख २१ र २२ गतेको संशोधित सूचनामा उल्लेख भएअनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत ज्येष्ठताको अवमूल्याङ्न, सङ्घीय तथा प्रादेशिक कार्यालयलाई प्राथमिकता, जानकारी विना संशोधित लिष्टमा कर्मचारीको नामावली हेरफेर र पालिकाका कर्मचारीलाई टाढाटाढाका मतदान केन्द्रमा खटाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्दले बताउनुभयो । 

“निर्वाचन स्वच्छ, पारदर्शी, र निष्पक्ष तरिकाले सफल पार्नु हामी सबैेको साझा दायित्व छ”, उहाँले भन्नुभयो, “ज्येष्ठता र समन्यायको सिद्धान्तलाई आत्मसात गर्दै सबै तहका कार्यालयमा कार्यरत कर्मचारीलाई पायक पर्ने ठाउँमा खटनपटन गर्नका लागि आग्रह गर्दछौँ ।” यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यनाकर्षण पत्र बुझाइएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ०१ बजे