सन्धिखर्कको मुहार फेर्न चाहने अभियन्ता कृष्णप्रसाद श्रेष्ठका यस्ता छन् योजना

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पहिलो नगरपालिका सन्धिखर्कको चुनावप्रति सबैको चासो बढेको छ । 

जिल्लामै चर्चित सामाजिक तथा राजनीतिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठको उम्मेदवारीले सबैको ध्यान अहिले सन्धिखर्कको चुनावमा तानिएको हो । 

२०२६ साल असार १५ गते बुबा नन्दलाल श्रेष्ठ र आमा उमाकुमारी श्रेष्ठको कोखबाट सन्धिखर्क– २ चुत्रावेसी जन्मिनुभएका श्रेष्ठ तीन भाइमध्ये माइलो छोरा हुनुहुन्छ । उहाँका दुई बहिनी छन् । बुबा नन्दलाल श्रेष्ठ तत्कालीन किमडाँडाको उपप्रधान हुनुहुन्थ्यो ।

सन्धिखर्कका प्रख्यात व्यापारी समे रहनुभएका उहाँले जनतालाई दुःख, सुखमा बलियो साथ दिने गर्नुभएको थियो । कुनै समस्या आइपर्दा सबैले सम्झने श्रेष्ठ अहिले वृद्ध अवस्थामा पनि सामाजिक काम गर्न पाउँदा रमाउँदै हुनुहुन्छ । 

आफ्ना बुबाको व्यवहारबाट प्रभावित श्रेष्ठ बाल्यकालदेखि नै दानी स्वभावका हुनुहुन्छ । उहाँले गरिब, दिन दुःखी र अशक्त देख्नासाथ सहयोग गरिहाल्नुहुन्थ्यो । घरमै पसल भएकोले उहाँलाई बाल्यकालमा पनि अभावको महसुस हुन पाएन । स्कुलले जीवनमा पनि उहाँले साथीहरूलाई धेरै सहयोग गर्ने गरेको सहपाठीको भनाइ छ । उच्च शिक्षा अध्ययन गर्दागर्दै उहाँ पनि बुबासँगै व्यापारमा लाग्नुभयो । व्यापारमा लागे पनि उहाँको ध्यान व्यापारमा भन्दा सामाजिक क्षेत्रमै बित्ने गर्थ्यो ।

उहाँले विभिन्न सङ्घसंस्थामा बसेर निरन्तर सामाजिक काम गरिरहनुभयो । सानो उमेरमै एमाले नेताहरू विष्णु प्रसाद पौडेल र प्रदीप ज्ञवालीको सम्पर्कमा रहनुभएका श्रेष्ठले भित्र भित्रै पार्टीको काम पनि गर्ने गर्नुहुन्थ्यो । 

धेरै सङ्घसंस्थामा बसेर काम गरे पनि श्रेष्ठलाई बाहिरी दुनियाँमा चियाउने संस्था भने उद्योग वाणिज्य सङ्घ नै थियो । उहाँले उद्योग वाणिज्य सङ्घमा बसेर करिब २५ वर्ष काम गर्नुभयो । २०५३ सालमा अर्घाखाँची उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष हुनुभएका श्रेष्ठ २०६१ सालमा अध्यक्ष भए र निरन्तर २०७७ सालसम्म १६ वर्ष काम गर्नुभयो । त्यसै अवधिमा उहाँले निरन्तर २ कार्यकाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य समेत भएर काम गर्नुभयो ।

लुम्बिनीलाई टुक्राएर तराईबाट पहाडी जिल्लालाई अलग गर्ने तत्कालीन सरकारको निर्णय फिर्ता लिन बाध्य पार्ने प्रदेशका केही नेता मध्येका श्रेष्ठ पनि एक हुनुहुन्छ । श्रेष्ठले अखण्ड प्रदेशको बचाउको निम्ति नागरिकहरूको तर्फबाट अर्घाखाँची जिल्लाबाट आन्दोलनको सुरुवात गर्नुभएको हो । 

विभिन्न सङ्घ संस्थाहरूको सहकार्य र जिल्लाका नेताहरूको परामर्शमा सुरु भएको आन्दोलन केही दिनपछि प्रदेशभर फैलिएको थियो । परिणाम त सरकार प्रदेश टुक्राउने निर्णयबाट पछि हट्न बाध्य भएको थियो । श्रेष्ठ आफू जनप्रतिनिधि नभए पनि जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान छ । सन्धिखर्कमा विमानस्थल चाहिन्छ भनेर पहिले आवाज उठाउने व्यक्ति श्रेष्ठ नै हो । उहाँले विमानस्थलको निम्ति उपयुक्त ठाउँ यहाँ छ भनेर प्रोत्साहन गरेको कुरा एयरपोर्ट शिलान्यास गर्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भाषण मै भन्नुभएको थियो । अर्घाखाँची जिल्लालाई नमुना जिल्लाको रूपमा विकास गर्नुपर्नेमा उहाँको सधैँ जोड रहने गरेको छ ।

श्रेष्ठले सानातिना विकासका काम निजी खर्चबाट पनि पूरा गर्दै आउनुभएको छ । उहाँ जनताले दुःखका कुरा गरे भने व्यक्तिगत रूपमा सहयोग गर्न पनिपछि पर्नुहुन्न । उहाँले यसबीचमा जिल्लाभित्रका सयौँ व्यक्तिलाई उपचारको निम्ति सहयोग गरेका छन् । कयौँ विपन्न परिवारलाई दुःख सुखमा साथ दिनुभएको छ । 

श्रेष्ठ प्रकृति मैत्री पनि हुनुहुन्छ । अघिल्लो वर्ष लकडाउन भएको समयमा सन्धिखर्कका सबै पसल बन्द थिए । पसल बन्द भएपछि बजारका दर्जनभन्दा बढी भुस्याहा कुकुरहरू खान नपाई मर्ने अवस्थामा पुगेका थिए । श्रेष्ठले त्यो कुरा थाहा पाएपछि प्रत्येक दिन कुकुरको निम्ति खानेकुराको व्यवस्था गरिदिनुभयो । यो क्रम अहिले पनि जारी छ । उहाँको बाहिर बाट झट्ट हेर्दाभन्दा भित्री वास्तविकतामा धेरै फरक छन् । कसैले पनि दुःख पाएको उहाँले देख्न सक्नुहुन्न ।

अरूको दुःखमा पनि अति दुःखी बन्ने श्रेष्ठको स्वभाव छ । आर्थिक र सामाजिक रूपमा निकै प्रतिष्ठित श्रेष्ठले जनप्रतिनिधि भएर सन्धिखर्कको मुहार फेर्नको निम्ति उम्मेदवार बनेको बताउनु भयो । थोरै मेहनत गर्न सके सन्धिखर्कलाई नमुना नगर बनाउन सकिने उहाँको बुझाई छ । उहाँले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटनलाई आधार बनाएर अगाडि बढ्ने योजना बनाउनुभएको छ ।

जिल्लामा गुणस्तरीय र इच्छा अनुसारको शिक्षा हासिल गर्न नपाउँदा सयौँ विद्यार्थी पढ्नको निम्ति सहर जानुपर्ने, स-साना रोगको उपचारको निम्ति बिरामी बुटवल काठमाडौँ धाउनुपर्ने, अनि पैसाको अभावमा विद्यार्थीले चाहेको विषय पढ्न नपाउने र बिरामीले उपचार नपाउने कुराले उहाँलाई निक्कै चिन्तित बनाएको छ । देशमा व्यवस्था परिवर्तन भए पनि जनताको जीवन स्तरमा सुधार हुने खालका काम हुन नसकेको श्रेष्ठको बुझाई छ ।

सन्धिखर्कमा बहु प्राविधिक शिक्षालय स्थापना गर्ने, विद्यालयको गुणस्तर वृद्धि गर्ने, अर्घाखाँची अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाइ बुटवलमा हुन सक्ने सबै किसिमको उपचार सुविधा यही उपलब्ध गराउने उहाँको योजना छ । 

यस्तै सुपा देउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घा, मथुरासम्म ल्याउनको निम्ति पूर्वाधार तयार गर्ने, देशभित्र र बाहिरका विज्ञहरू ल्याई नगरको माटो, भौगोलिक अवस्थाको अध्ययन गराई आधुनिक कृषि तर्फ कृषकलाई प्रोत्साहन गर्ने योजना पनि रहेको छ ।

श्रेष्ठले आफूले केही पाउनको निम्ति भन्दा पनि केही गरेर देखाउनको निम्ति नगर पालिकाको प्रमुख बन्न चाहेको बताउनुभयो । ''सन्धिखर्क भौगोलिक हिसाबले मिलेको छ, हावापानी राम्रो छ, समुदायमा एकता छ त्यसैले यहाँको विकास गर्न सजिलो छ'', श्रेष्ठले भन्नुभयो । 

उहाँले सामाजिक न्यायसहितको विकास र समृद्धिको पक्षमा आफू निरन्तर अगाडि बढ्ने अठोट पनि गर्नुभएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३० बजे