साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विकास निर्माणमा आम जनसहभागिताको अपनत्व बढाउने योजना ल्याउँछौँ : देव सागर लामा

देव सागर लामा काभ्रेको राजनीतिमा नौलो नाम होइन, विगतदेखि नै लामा राजनीतिक एवं सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ उहाँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेको रोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बन्नुभएका लामाको निकै चर्चा हुन थालेको छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा रोशी गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारे पनि उल्लेख्य काम केही गर्न सकेन । विगतदेखि पछाडि परेको रोशीको विकास र समृद्धिलाई द्रुत गतिमा लैजाने योजनाका साथ एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका लामा रोशीको परिचय बदल्ने अठोटसहित चुनावी मैदानमा हुनुहुन्छ  । 

२०३७ साल वैशाख २८ गते जन्मिनुभएका लामा २०५१ सालदेखि अनेरास्ववियुमा आबद्ध हुँदै राजनीतिमा लाग्नुभएको हो । २०५४ सालमा अनेरास्ववियुको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा जिल्ला कमिटी सदस्य, सोही वर्ष जिल्ला कमिटी कोषाध्यक्ष, हुनुभएका लामा २०६३ सालमा युवा सङ्घ नेपालको जिल्ला कमिटी सदस्य र २०६५ सालमा युवा सङ्घको जिल्ला कमिटी कोषाध्यक्ष हुनुभयो । २०६६ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बन्नुभएका लामा २०६९ सालमा युवा सङ्घ केन्द्रीय युवा सङ्घको केन्द्रीय सचिवालय सदस्य हुनुभयो । २०७८ साल कार्तिकमा भएको अधिवेशनपछि हाल उहाँ नेकपा एमाले रोशी गाउँपालिका कमिटीको अध्यक्षको समेत हुनुहुन्छ । 

व्यवस्थापन र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका लामा अधिवक्ता पनि हुनुहुन्छ । उहाँ १४ वर्ष प्राध्यापन तथा २४ वर्ष सहकारी क्षेत्रमा क्रियाशील व्यक्तित्व लामासँग कस्ता छन् त रोशी गाउँपालिकाको विकास र समृद्धिलाई द्रुत गतिमा लैजाने र रोशीको समग्र मुहार फेर्ने योजना? यी नै विषयमा केन्द्रित रहेर लामा सँग गरिएका कुराकानी :

रोशीमा तपाईँको उम्मेदवारी किन ?
​​​​​​​मेरो उम्मेदवारी रोशीको राजनीतिक हो । रोशी खोलामा आज अन्य दलको राजनीतिक नेतृत्वको परिचयले काभ्रेमा मात्र होइन समग्र देशमा नै रोशी खोलाको राजनीतिक नेतृत्व भनेपछि गुण्डागर्दीमा विद्यावारिधि गरेकाहरू, अकुत सम्पत्तिधारीहरू, प्राकृतिक स्रोत र साधनको दोहनमा अग्र मोर्चामा रहेकाहरू भन्ने जुन परिचय छ, म त्यो बदल्न चाहन्छु । मलाई हाम्रो पार्टी नेकपा एमालेले रोशी खोलामा त्यो निष्ठाको राजनीति गर्छ, गलत कार्यको खरो ढङ्गले प्रतिवाद गर्न सक्छ भन्ने विश्वासको साथ पालिकाको नेतृत्व गर्नको निमित्त पठाएको छ । म आम रोशीवासी समुदायको काभ्रेमा मात्र होइन समग्र देशमा नै रोशीको राजनीतिक नेतृत्वको परिचय असल सामाजिक कार्यकर्ताको रूपमा अगाडि बढाउन मेरो उम्मेदवारी रहेको जानकारी गराउन चाहन्छु ।

पालिका विकासको लागि तपाईँको प्रमुख योजनाहरू के के छन् ?
विद्यालय शिक्षालाई सहज बनाउनेछु । सामुदायिक विद्यालय जति पनि रोशी पालिकाभित्र छन् ती सामुदायिक विद्यालयहरूलाई काभ्रे जिल्ला कै नमुना विद्यालयका रूपमा अगाडि बढाउन मेरो नेतृत्वमा सरकार बनेपछि सार्वजनिक शिक्षाको सबलीकरणमा मेरो पहिलो जोड रहनेछ ।  

आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई सहज पहुँचमा ल्याउन प्रयत्न गर्नेछु । निःशुल्क स्वास्थ्य जाँच, निरोगी रोशी समाज भन्ने उद्घोषका साथ स्वास्थ्य क्षेत्रमा सुधारका कार्य अगाडि बढाउने छु । आम रोशीका बेरोजगार युवाहरूलाई सीप सहितको रोजगारको प्याकेजका योजनाहरू वडा तह सम्म नै सञ्चालन गर्नेछु ।

यस्तै पूर्वाधार विकासको कार्यमा आगामी एक दशक सम्मको पूर्वाधार विकासको योजनालाई तत्काल, अल्पकालीन र दीर्घकालीन योजनामा समावेश गरेर अगाडि बढ्ने छु । मेरो वडा म बनाउँछु, हाम्रो पालिका हामी बनाउने छौँ भन्ने अभियान सञ्चालन गरेर हरेक विकास निर्माणमा आम जनसहभागिताको अपनत्व बढाउने योजनाहरू अगाडि सार्नेछु ।

तपाईँ निर्वाचित हुनुभयो भने के के सुधार गर्नुहुन्छ ?
म निर्वाचित भएपछि मेरो मातहतको जनप्रतिनिधिहरूलाई शासक होइन सेवकको रूपमा कार्य गर्नको निमित्त उत्प्रेरित गर्नेछु । मेरो पालिकालाई सुशासनको नमुना पालिका बनाउने छु । मेरो मातहतका जनप्रतिनिधि र प्रशासकीय संयन्त्रलाई सदाचारी बनाउने छु । मसहित मेरा जनप्रतिनिधिहरू आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् । मसहित मेरा पालिकाका जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्ने र गराउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने छौ ।

योजना प्राप्तिको आधार चाहिँ के हो त ?
सम्पूर्ण गाउँवासीबाट मैले त्यहाँको समस्याको गुनासो सुची तयार गर्नेछु र मैले विज्ञहरूसहितको टोली निर्माण गरी ती समस्याको अल्पकालीन र दीर्घकालीन समाधानको योजना बनाउने छु । मभन्दा अगाडिको पालिकाको नेतृत्वले अगाडि सारेका समृद्ध रोशी निर्माणको अधुरो योजनाहरूलाई पूर्णता दिनेछु । केन्द्रीय सरकार र प्रदेश सरकारसँग पनि समृद्ध रोशी बनाउनको निमित्त आवश्यक पहलकदमी लिनेछु । रोशीको समग्र विकासको खाका बनाई प्रदेश र केन्द्र सरकारसँग समेत आवश्यक सहयोगको निमित्त पहल गर्नेछु ।

रोशीमा तपाईँको जीतका आधारहरू के के हुन् त ?
मेरो राजनीतिक र सामाजिक कार्यसँगै मेरो पार्टी नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाले आज मुलुकको विकासको आधार राष्ट्रिय स्वाधीनता जोगिएको यथार्थ आम नेपालीले बुझेका  छन् । स्थानीय सरकारलाई निकम्मा बनाउन यो गठबन्धन सरकारले बेला बेलामा गरेको हर्कतलाई हाम्रो पार्टी नेकपा एमालेले जोगाएको छ । रोशी खोलामा नेकपा एमाले ले नै बनाएको साङ्गठनिक जनाधार र आम जनसमुदायको भाषा नै मेरो जितको मुख्य आधार हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ५५ बजे