बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप

काठमाडौँ / बाजुरामा नेपाली काँग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबिच झडप भएको छ ।

झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली काँग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुई जना गम्भीर घाइते भएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनको अगाउपानीमा उनीहरूबिच शुक्रवार दिनभर झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा १० प्रहरीसहित र तीन जना काँग्रेस कार्यकर्ता पनि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हवाई फायर गरेको थियो ।

झडपको अवस्था नियन्त्रणमा आउन नसकेपछि सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतिर गएको प्रहरीले जनाएको छ । अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ५५ बजे