बाढीको स्थितिमा सुधार

नेपाल–भारत सीमासुरक्षा बैठक

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक आज सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो ।
    
    यही वैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचन अघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
    
    उहाँका अनुसार निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण नेपालमा हुनसक्ने आपराधिक घटनालाई रोक्न, निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शीरूपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीसँग छलफल गर्न बैठक आयोजना भएको र यसमा दुवै देशका सुरक्षा निकायले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिनुभयो ।

रासस

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ११ बजे