हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

जनताको विश्वास र विगतको अनुभवले अब्बल मीना

काठमाडौँ । नेपालमा सूर्योदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेदवार बन्नु भएको छ । 

२०७४ सालको स्थानीय निर्वाचनमा शानदार रूपमा विजयी भई उपमेयरको पाँच वर्षे कार्यकाल पूरा गर्नुभएकी उप्रेतीलाई नेकपा एमालेले पुनः एक पटक उपमेयरको टिकट प्रदान गरेको छ । 

२०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्यधिक मतले हराउँदै उपमेयर जित्नुभएको र पाँच वर्षको अनुभवले समेत आगामी दिनमा नगरको विकासमा योगदान पुर्‍याउने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

२०२५ सालमा जन्मेकी मीना सानै उमेरदेखि राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ । पञ्चायती व्यवस्थाको कठोर राजनीतिक प्रतिबन्धका समयमा पनि उहाँसँग अनेरास्ववियुका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । मोरङको अमरदहमा जन्मनुभएकी उप्रेती २०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भिक कमिटी अध्यक्ष हुनुहुन्थ्यो भने २०४५ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र सोही वर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ विराटनगर नगर कमिटी सचिव बन्नुभएको थियो । २०४६–०४७ सालको जनआन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

२०५० सालमा झापा काँकडभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग उहाँको मञ्च विवाह भएको थियो । झापा प्रवेशसँगै उहाँको राजनीतिक यात्रा झनै तिखारिँदै गयो । विवाह गरेकै साल उहाँ काँकडभिट्टा नेकपा एमालेको सदस्य भई निरन्तर रूपमा अखिल नेपाल महिला सङ्घ नगर अध्यक्ष रहनुभयो । आफ्नो राजनीतिक जीवनका क्रममा उहाँ पटक पटक प्रहरीको गिरफ्तारीमा समेत पर्नुभएको थियो ।

उप्रेती राजनीतिमा मात्र होइन, विभिन्न सामाजिक सङ्घ/सङ्गठनहरूमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । विगतमा काँकडभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति आदि सङ्घ सङ्गठनमा आबद्ध भई काम गरेको अनुभव उहाँसँग छ । पूर्वी नेपाल विशेषतः मेची अञ्चलको पर्यटन प्रवर्द्धन र विकासका निम्ति उहाँको विशिष्ट योगदान रहँदै आएको छ ।

सहकारीको क्षेत्रमा पनि उप्रेतीको विशेष योगदान र संलग्नता रहेको छ । मुलुककै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको उहाँ संस्थापक सञ्चालक समेत हुनुहुन्छ । 

झापामा उहाँलाई एउटा बौद्धिक महिला व्यक्तित्वका रूपमा समेत चिनिन्छ । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनको अनुभव समेत समेट्नु भएकी उप्रेतीका विभिन्न पत्रपत्रिकामा नियमित लेख रचनाहरू प्रकाशित हुने गरेका छन् ।

अत्यन्तै जुझारु, कर्मठ तथा सङ्घर्षशील उप्रेतीको उम्मेदवारीले अहिले मेचीनगरमा खुसीको तरङ्ग पैदा गरेको छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा उहाँले गर्नुभएको योगदानको यहाँका मतदाताले अवश्य मूल्याङ्कन गर्नेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : १६ बजे