हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

ठूलो वृक्षमा सबैको आँखा लाग्छ , बाँदर सेनाले गुलेलीले हाने, म निर्दोष छु : केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफु माथि भइरहेको आक्रमण झुटो भएको बताउनुभएको छ । रश्मिला प्रजापति प्रकरणबारे सार्जजनिकरूपमा स्पष्टिकरण दिदैं स्थापीतले  यो प्रकरणमा आफू पूर्णरूपमा निर्दोष रहेको बताउनुभयो ।

आज मतदातासँगको अन्तरक्रियामा बोल्नुहुँदै स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गर्नुभयो । उहाँले रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको प्रष्ट पार्नुभयो  । उहाँले निर्वाचनलाई प्रभावित पार्नका लागि आफु विरुद्घ झुटा लाञ्छना लगाउने काम भएको बताउनुभयो । उहाँले यस अघि एक विद्यार्थीले गलत आरोप लगाएपछि त्यसको प्रतिवाद मात्र गरेको बताउनुभयो । आक्रमण गर्नेविरुद्घ प्रतिवाद गर्नु कुनै गलत नभएको उहाँले बताउनभुयो । 

उहाँले रश्मिलालाई बोकेर आफूसँग प्रतिस्पर्धा नगर्न कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई चेतावनी दिनुभयो ।ठूलो रुखमा गुलेलीले प्रहार गर्दैमा रुखले फल दिन नछाड्ने स्थापितले बताउनुभयो ।

उनले भन्नुभयो, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ । बाँदर सेनाले गुलेलीले हान्छन् । रुखले निहुरिनुपर्छ । अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो ।’ आफ्नो अभिव्यक्तिबाट कसैको चित्त दुखाएको भए यही मञ्चबाट माफी माग्ने स्थापितले बताउनुभयो ।

रश्मिला प्रकरणबारे स्थापितको भनाइ :

म मेयर हुँदा एक जना साथीले उहाँलाई लिएर आउनुभयो । मलाई सम्पदा विभागमा यो मान्छेले सघाउँछ भनेर मेरो एक्सपर्टले ल्याएको । उहाँको बुवालाई म चिन्थेँ । तर मैले उहाँसँग संगत कहिल्यै गर्नु परेन ।

मैले यो अवधिमा अनुचित सम्बन्धको प्रयास गरेको भए र नमानेको भए एक मिनेटमै निकाल्थेँ होला । अस्थायी करारलाई आज नमाने आज, भोलि नमाने भोलि निकाल्न सकिन्छ नि । बदला त त्यसरी हुन्छ । तर, पाँच वर्ष केही भएन ।

बीचमा म यो पार्टीमा अलि असजिलो भएपछि छाता चिन्ह लिएर चुनाव लडेँ । उहाँ मेरो प्रचारप्रसारमै हिँड्नुभयो । उ त्यति बोल्न जान्ने मान्छे होइन । त्यसैले मञ्चमा बोलेन । अनि म पछि फेरि मेयर भएँ राजाको पालामा । त्यो बेला मेयर बन्नु हुन्थ्यो कि हुँदैनथ्यो तर भएँ । तीन दिनमा फोहोर मैला उठाउन बन्द भयो । मैले कर्मचारीलाई डाकेँ । उनीहरूले फलानोलाई कारबाही गर्नुपर्छ भने । मलाई त्यो कर्मचारी त्यहीँ छ भन्ने पनि थाहा थिएन ।

मैले उहाँको बारे थप भनेँ भने आत्महत्या गर्नेछन् । मैले यो कुरा अर्को ठाउँमा छपायो भने आत्महत्या गर्नेभन्दा अर्को उपाय छैन । तर हुँदै नभएको दोष पनि मैले बोक्नु भएन । मैले उहाँसँग के प्रस्ताव राखेको र त्यो नमानेर हटाएको भन्ने कहीँ पनि छैन । सफाइ कर्मचारीले कार्यकारी प्रमुखलाई र यो महिलालाई कर्मचारीले तानेर मञ्चमा ल्याएपछि मेरो भ्रष्टाचार छानबिन होस भनेको हो । यो संस्थामा बस्दिनँ भनेको हो । विभागीय प्रमुख र सबै मन्त्रालयका प्रतिनिधि बसेर उसलाई हटाउने निर्णय गरेको हो । मेरो कुनै हात छैन । मलाई थाहा पनि छैन ।

यो महिला बीच–बीचमा देखा पर्दैन । अनि चुनावको बेला प्रयोग हुन्छ । फल लागेको बेला बाँदर उफ्रिन्छ भनेजस्तै हो । बाँदर परेन होला, बाँदरको श्रीमती पर्‍यो होला, यति न फरक हो । यति भन्दा पनि महिला हिंसा हुन्छ भने हिंसा नै हो ।

महिलाको मामलामा ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्छ । महिलाले चिथोरे पनि हुने । पछाडिबाट चढे पछि हुने । महिलाले ढुंगाले हाने पनि हुने । पुरुषले चाहिँ ठुलो आँखा पार्‍यो भने महिला हिंसा । दृष्टिले हरेर मलाई बलात्कार गर्‍यो भन्छन् के गर्ने । यस्तो समाज छ ।

अस्ति पत्रकार सम्मेलनमा मलाई साह्रै उत्तेजित गरेको हो । मेरो छोरीको उमेरकाले बोलेको हेरौँ न । अमानवले बोलेको जस्तो । अमानवलाई मानवजस्तो व्यवहार गर्नु पर्दैन जस्तो लाग्छ । त्यसैले मैले भनेको हुँ । तिमी साह्रै राम्रो छौ तर थुतुनो ठिक छैन । मैले कालभैरव प्राक्टिस गरेको छु । अलिकति भैरवको रूप देखाएन भने हेप्छन् । त्यो जनतामाथि होइन ।

अमानवमाथि देखाउने हो । फेरि मैले प्रहार गरेको होइन, छेकेको मात्र हो । छेक्दा यस्तो हुन्छ, हान्दा के होला ।

यो उम्मेदवार तपाईँहरूको प्रतिनिधि पात्र योग्य छ । तर पनि हामीले खोजेको यस्तो होइन है भन्ने हो भने यही मञ्चबाट माफी माग्छु । तर महिलाको पनि समर्थन चाहिन्छ मलाई ।
 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : १९ बजे