माधव नेपालले गरे संसद विकास कोषको रकमको दुरुपयोग

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद विकास कोषको रकमबाट सहमति विपरीत भवन निर्माण भएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. ३२ शृङ्खला टोलमा गत २०७७ ज्येष्ठ ४मा सार्वजनिक जग्गामा भवन निर्माण गर्नका लागि जग खन्ने समयमा मात्र टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजलाई उक्त स्थानमा क्रियापुत्री भवन बनाउने कुरा थाहा भएको स्थानीयवासीले जनाएका छन् ।

‘सोही दिन यो भवन कसले र किन निर्माण गर्न लागेको भनी बुझ्दा सो भवन निर्माण हुने क्षेत्रमा बसोबास गर्ने प्रत्यक्ष असर पर्ने स्थानीयलाई थाहै नदिई संलग्न नै नगराई यस क्षेत्रका सङ्घीय संसद् माधव कुमार नेपालको सांसद विकास कोषको रकमबाट भवन निर्माण गर्न भवन निर्माण समिति गठन भएको तथ्य जानकारीमा आयो,’ शृङ्खला टोल विकास समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजले यस्तो क्रियापुत्री भवन आवासीय क्षेत्रमा बनाउन मनासिब नहुने र यसले टोलवासीहरूमा नकारात्मक मनोवैज्ञानिक असर पर्न जाने भएकाले सोही समयमा सोही प्रयोजनको लागि भवन निर्माण नहोस् भनी टोल विकास समाजले विरोध स्वरूप जग खन्ने काममा विरोध गरेको र सोको लागि उक्त भवन निर्माण समिति तथा काठमाडौँ महानगरपालिका वडा नं. ३२ बडा कार्यालयलाई उक्त भवन क्रियापुत्री प्रयोजनको लागि निर्माण नगरियोस् भनी गत २०७७ ज्येष्ठ ४ मा निवेदन दिइएको भए पनि भवन जवर्जस्ती रूपमा निर्माण गरिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गत २०७७ ज्येष्ठ ४ मा दिइएको निवेदन र भवन निर्माणमा बाधा गरेकाले २०७७ ज्येष्ठ ५ मा काठमाडौँ महानगरपालिका वडा नं. ३२ बडाका बडा सदस्य हिरा देवी पोखरेलको उपस्थितिमा भवन निर्माण समिति, टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजकाबीच भएको छलफलमा टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजले क्रियापुत्री प्रयोजनको लागि भवन निर्माण नगरियोस् भनी आफ्नो भनाई राखेकोमा भवन निर्माण समिति सहितको संयुक्त बैठकमा निवेदक स्थानीय टोलवासीहरूको भावनालाई कदर गर्दै उक्त भवनको उपयोग स्थानीय टोलवासीहरूको सहमतिमा गर्ने र यो भवन बहूद्देश्यीय सामुदायिक भवन हुने भन्ने लिखित सर्वसम्मत निर्णय भएको थियो ।’

बैठकले बजेट फिर्ता गरी उक्त भवन क्रियापुत्री प्रयोजनमा नल्याउने, भवन बहूद्देश्यीय प्रयोजनको लागि प्रयोग गर्ने भन्ने भद्र सहमति गरेको थियो । उक्त बैठकले भवन निर्माण सम्पन्न भएपछि क्रियापुत्री प्रयोजन बाहेक कुन प्रयोजनका गर्ने भन्नका लागि निवेदक टोलवासीहरूको तर्फबाट तीन जना र भवन निर्माण समितिको तर्फबाट दुई जना गरी पाँच सदस्यीय सुझाव समिति गठन गर्ने र सो सुझाव समितिको राय सुझाएका आधारमा भवनको प्रयोग गर्ने लिखित निर्णय समेत भएको थियो ।

तर पूर्व प्रधानमन्त्री माधव नेपालको पद र शक्तिको दुरुपयोग गर्दै बलजफती भवन निर्माण गरी सहमति विपरीत क्रियापुत्री भवनका रूपमा सो भवनलाई प्रयोगमा ल्याइएको टोलवासीहरूको आरोप छ ।

‘२०७७ ज्येष्ठ ५ को निर्णय अनुसार टोलवासीहरू तथा शृङ्खला टोल विकास समाज बाट भवन निर्माणमा कुनै बाधा विरोध गरिएन । भवन निर्माण चलिहेरेको समयमा भवन निर्माण समितिलाई भवन प्रयोजनको निश्चितता नभएकाले भवनको भित्री स्वरूप बहूद्देश्यीय प्रयोजनमा उपयुक्त हुने बनाउन भनिएकोमा सो समितिले सोही अनुसार बनाइएको भनिएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।

भवन निर्माण सम्पन्न भए पश्चात् भवन कुन प्रयोजनमा ल्याउने भन्नका लागि गठित सुझाव समितिको बैठक राख्न टोलवासीहरूको तर्फबाट सुझाव समितिमा रहेका सदस्यहरूले बारम्बार ताकेता गर्दा पनि कुनै बैठक नराखिएको टोलवासीहरू बताउँछन् । बैठक नबोलाएपछि समाजले टोलबासिहरुको सामूहिक भेला राखी सो भेलाले उक्त भवनको वैकल्पिक प्रयोजनबारे गरेको निर्णय भवन निर्माण समिति र काठमाडौँ महानगरपालिका वडा नं. ३२ बडा कार्यालयलाई लिखित जानकारीसमेत गराएको थियो ।

भवन निर्माण समितिले भवन निर्माण सम्पन्न भएपछि भवनको स्वामित्व कसको हुने, त्यसको रेखदेखको जिम्मा कसको हुने, भवन कसरी सञ्चालन गर्ने, कुन प्रयोजनको लागि उपयोग गर्ने, भवन सञ्चालन गर्ने सञ्चालक समिति निर्माण गर्ने, सञ्चालन विधि तथा प्रक्रियाका लागि सञ्चालन विधान, नियम तथा कार्यविधि तयार गर्नु पर्ने, सञ्चालनबाट भएको आम्दानी तथा खर्चको जिम्मा कसले लिने, आर्थिक तथा सामाजिक लेखापरिक्षणको व्यवस्था के हुने भन्ने निर्क्योल भएपछि भवन बिधिबत रूपमा उद्घाटन गरेर मात्र सञ्चालनमा ल्याइनु पर्ने उनीहरूको माग छ ।

‘यस्तो सामाजिक भवनलाई सो भवनका वरिपरि बस्ने टोलवासीसँग समन्वय समेत नगरी टोलवासीहरूमा पर्ने नकारात्मक मनोवैज्ञानिक असरको विश्लेषण नगरी, टोलवासीहरूलाई धाक धम्की दिई भवन निर्माण समितिले निजी सम्पत्ति ठानी व्यक्तिगत रूपमा भवन निर्माण समितिले एक तर्फी रूपमा बलजफती २०७८ पौष ३ दिन उक्त भवनमा क्रियापुत्री ल्याई राख्ने कार्य गरियो । सोही दिन टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजले उक्त क्रियापुत्री राख्ने कार्यको विरोध गरिएको थियो तर टोलवासीहरूको भावना, विरोधलाई कदर नगरी एकतर्फी रूपमा सो क्रियापुत्री राख्ने कार्य आजका दिन सम्म जारी राखिएको छ’ विज्ञप्तिमा उल्लेख छ 

उक्त भवनमा आधिकारिक रूपमा बिद्युत् जडान नगरी बिजुलीको खपत गरिएको भन्दै टोलबासीहहरुले सोको जानकारीसहित बिद्युत् प्राधिकरण, नयाँ बानेश्वर शाखा र काठमाडौँ महानगरपालिका ३२ नं बडा कार्यालयलाईसमेत अनुरोध गरेको जनाइएको छ ।

बलजफती क्रियापुत्री राख्ने कार्य नरोकिएकोले टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजले सांसद माधव नेपाललाई पटक पटक भेटी आफ्ना समस्याहरू लिखित तथा मौखिक रूपमा राखे पनि आफूहरूको माग सुनुवाइ नभएको उनीहरूको गुनासो छ । माधव नेपालले टोलबासिहरुलाई समस्या हुन्छ भने क्रियापुत्री राख्ने प्रयोजन हटाई अन्य प्रयोजनमा ल्याउने आश्वासन दिएको भए पनि अझैसम्म यो समस्या समाधान भएको छैन ।

आवासीय क्षेत्रमा क्रियापुत्री राख्न मनासिब नहुने र यसले टोलवासीहरूमा दीर्घकालीन नकारात्मक मनोवैज्ञानिक असर पर्न जाने भएकाले सो भवनमा क्रियापुत्री नराखी अन्य वैकल्पिक प्रयोजनमा ल्याउन टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजले अपिलले गरेको छ ।

​​​​​​​

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : १७ बजे