गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परी तीनको मृत्यु

गोरखा – गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

    बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो ।

रासस

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : १४ बजे