एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

जबजको नवौँ विशेषता– जनताको जनवादी व्यवस्थाको सुदृढीकरण

सिद्धान्तकार जननेता मदन भण्डारी प्रणित नेपाली क्रान्तिको मौलिक मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले आधुनिक लोकतन्त्रका व्यवहारसिद्ध दृष्टिकोणहरू, मानव सभ्यताले विकास गरेका सामाजिक–राजनीतिक मूल्य र मानव अधिकारका नागरिक राजनीतिक तथा सामाजिक आर्थिक साँस्कृतिक विशिष्ट पक्षहरूलार्ई अँगाल्दै सामाजिक न्यायसहितको समतामूलक समाज बनाउने लक्ष्य लिएको छ । एकताका विश्व समाजवादी प्रणालीलाई उचाईमा पु¥याउन सफलता हासिल गरिसकेको माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढिरहेको जबज आज नेपालको सामाजिक–आर्थिक रूपान्तरण गर्नसक्ने विकल्पहिन सिद्धान्तको रूपमा विकास हुन सफल भएको छ । देशको हित र जनताको समुन्नति गर्नसक्ने यस क्रान्तिकारी सिद्धान्तको प्रयोग गर्दै मुलुक अहिले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भइरहेको छ ।  

सामन्तवाद–साम्राज्यवाद–नवउपनिवेशवादका सबैखाले दुष्परिणाम, विकृति, विसंगति, शोषण, दमन र उत्पीडनलाई समाप्त पार्ने सुस्पष्ट दृष्टिकोण अवलम्बन गरेको जनप्रिय सिद्धान्त जबजका थप १४ वटा मुख्य विशेषताहरूमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट वर्गविहिन समाज सिर्जना गर्न मार्गदर्शन गर्ने मान्यताहरू सुस्पष्ट रूपमा समाविष्ट छन् । विश्व कम्युनिष्ट आन्दोलनका आरोह तथा अवरोहका सकारात्मक एवं नकारात्मक दुबै पाटाहरूलाई मध्यनजर राखेर विकसित गरिएको बदलिएको परिस्थिति सुहाउँदो नवीन विचार जबजका मूलभूत विशेषताहरु भनेका विश्वका अनेकौँ मुलुकहरूमा लोकतन्त्र र  मानव अधिकारको प्रयोग गर्ने सन्दर्भमा हासिल भएका महत्वपूर्ण उपलब्धी, सोभियत नमूनाको समाजवादले व्यहोर्न बाध्य हुनुपरेको धक्काबाट प्राप्त शिक्षा र विश्व कम्युनिष्ट आन्दोलनले उतार चढावका बीच हासिल गरेका ऐतिहासिक उपलब्धीजस्ता विषयहरूबाट उत्पन्न भएका हुन् । ती विशेषताहरू—संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व तथा जनताको बहुदलीय जनवाद हुन् । यस आलेखमा जबजका थप मौलिक विशेषताहरू मध्ये ‘जनताको जनवादी व्यवस्थाको सुदृढीकरण’ को बारेमा संक्षेपमा चर्चा गरिएको छ । 

यहाँ छलफल गर्न खोजिएको ‘जनवादी व्यवस्थाको सुदृढीकरण’ भन्ने विशेषता सर्वहारा श्रमजीवि वर्गको नेतृत्वमा सामन्तवाद–साम्राज्यवादलाई उत्छेद गरेपछि स्थापना भएको राजनीतिक तथा सामाजिक व्यवस्थालाई मजबूत पार्ने विषयसँग सम्बन्धित छ । यो स्वाभाविक हो कि सामाजिक रूपान्तरण गर्ने जनवादी क्रान्ति सम्पन्न भएपछि पनि प्रतिक्रान्तिको खतरा विद्यमान रहेकै हुन्छ । त्यसबेला समाजलाई पछाडि फर्काउन चाहने बुर्जुवा प्रतिक्रियावादी शक्तिको षड्यन्त्र र सक्रियतालाई असफल पार्न जनवादी राज्यले सजबुझपूर्ण नीति र व्यवहार अवलम्बन गर्नु पर्ने हुन्छ । जनतामा क्रान्तिप्रति सम्मान र विजयप्रति विश्वास जगाउन कम्युनिष्ट पार्टीले आर्थिक सामाजिक साँस्कृतिक क्षेत्रमा रहेका विकृति एवं विसंगतिलाई न्यूनीकरण गर्दै अन्ततः तिनलाई समाप्त पार्ने कार्यक्रम सञ्चालन गर्नै पर्दछ । वर्गीय शोषण उत्पीडनका सार, रूप र संरचनालाई जरैदेखि निर्मूल पार्ने विशेष योजना तर्जूमा गर्दै त्यसको कार्यान्वयन गर्नु पर्दछ । यस कार्यबाट आमजनतामा क्रान्तिकारी शक्तिप्रति भरोसा र विश्वास पैदा हुन्छ जसबाट प्रगतिशील शक्तिलाई अग्रगमन तर्फको यात्रा सशक्त पार्न सहज र सरल हुन्छ । 

सामाजिक आर्थिक रूपान्तरण प्रक्रियाको लक्ष्य भनेको सामाजिक न्याय र समानतामा आधारित वर्गविहिन समाज निर्माण गर्नु नै हो । यस्तो विभेदमुक्त र शोषणरहित समाज निर्माण गर्नसक्ने अग्रदस्ता भनेको सर्वहारा श्रमजीवि वर्गको नेतृत्वमा गठित र परिचालित क्रान्तिकारी पार्टी नै हो । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नसक्ने प्रगतिशील विचारधारा अँगालेको कम्युनिष्ट पार्टीले नै समाजमा रहेको शोषण उत्पीडन एवं विभिन्न खाले हिंसालाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट समूलरूपमा समाप्त पार्न सक्तछ र एक आदर्शयुक्त समाज स्थापना गर्न सक्दछ । 

सहि क्रान्तिकारी पार्टीले लिएको उचित वैचारिक मार्गदर्शनमार्फत सामाजिक क्रान्ति सम्पन्न हुन सक्छ । तर यसो गरिरहँदा क्रमिकरूपमा योजनाहरू लागू गर्नु पर्दछ र यस प्रक्रियाले समाजलाई सहज ढङ्गले अगाडि बढाउन मद्दत पुग्दछ । यस प्रसंगमा जननेताले “हामी सैद्धान्तिक आग्रहबाट प्रेरित भएर भौतिक परिस्थितिबिना नै समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोर जबर्जस्ती गर्ने कुराको विपक्षमा छौँ । स्वाभाविकरूपमा कुनै पनि नयाँ व्यवस्थालाई सुदृढ गर्नका निम्ति अपेक्षित समय चाहिन्छ” भन्नुभएको छ । अर्थात् क्रान्तिद्वारा स्थापना भएको रूपान्तरणकारी व्यवस्थालाई थप समृद्ध र सुदृढ तुल्याउनका लागि कोशिस गर्ने तर लक्ष्य र सपना असल छ त्यो हासिल गर्न समाजमा जोरजबरजस्ती र जिद्धि गर्ने पक्षमा जबज छैन भन्ने कुरामा जननेताले आफ्नो दृष्टिकोण स्पष्ट राख्नु भएको छ । 

संसारका विभिन्न देशहरू मध्ये कतिपयमा जनवादी क्रान्ति र कतिपयमा समाजवादी क्रान्ति सम्पन्न भएपछि त्यसका असल परिणामहरू सम्बन्धित मुलुकका नागरिकहरूले उपभोग गरिसकेका छन् । जनवादी तथा समाजवादी मुलुकहरूले विश्व शान्तिमा पुर्याएको योगदान, मानवता र भ्रातृत्व अभिबृद्धिमा दिएको देन एवं आर्थिक समृद्धिमा प्रमाणित गरेको पहिचान सबैका निम्ति अनुकरणीय छन् । तर यसो भन्दैमा समाजवादमा पुग्ने हतारोले प्राप्त भएको उन्नत व्यवस्था समेत ढलेका सोभियत संघ र पूर्वी युरोपका देशहरूका उदाहरणहरू प्रस्तुत गर्दै जननेताले “जनताको जनवादी सत्ताले मूलभूतरूपमा तीनवटा विशेष अवधि पार गर्नु अनिवार्य हुन्छ : पहिलो– पुरानो व्यवस्थाका शोषण–उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि, दोस्रो– नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र साँस्कृतिक दुबै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र तेस्रो– समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने अवधि” का बारेमा दृष्टिकोण प्रस्तुत गर्नुभएको हो । जननेताले थप भन्नुभएको छ– यस्ता ठोस कुराहरू सम्पादन गर्न स्वाभाविकरूपमा एउटा अपेक्षाकृत लामो समय चाहिन्छ । 

विश्व समाजवादी प्रणालीका कतिपय जनवादी तथा समाजवादी मुलुकहरूले सामाजिक आर्थिक आधार तथा आधेय सुदृढ नतुल्याई मनोगत रूपमा गलत निष्कर्ष निकाल्दै देश उन्नतस्तरको समाजवादमा पदार्पण गरेको निष्कर्ष निकाले । ती मुलुकमा गरिएको यस प्रकारको ‘वामपन्थी’ गल्तीले गर्दा समाज अगाडि नबढेको मात्र होइन उल्टो पूँजीवादी बुर्जुवा सत्ता पुनःस्थापित भए ।  

जबज बहुदलीय प्रतिष्पर्धाका माध्यमबाट लोकप्रिय मतका आधारमा राज्य सञ्चालन गर्ने मान्यतामा विश्वास गर्ने भएकाले हौसिएर अगाडि बढ्ने मान्यताको विरुद्धमा छ । जननेताले “अझ हामी नयाँ जनवादी व्यवस्थामा पनि बहुदलीय पद्धति अपनाउन प्रतिबद्ध छौँ । यसको तात्पर्य बल प्रयोग होइन, सेवा र घनिष्ट सम्बन्धबाट जनताको दिल जित्न र समर्थन हासिल गर्न चाहन्छौँ” भन्नुभएबाट पनि सामाजिक राजनीतिक अन्तरविरोधलाई समाधान गर्ने विषयमा जबजको परिपक्व दृष्टिकोण स्पष्ट हुन्छ । त्यहि भएर जननेता “हामीहरू अन्य कतिपय देशहरूमा जस्तो समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दह्रोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ” भन्दै बहुदलीय जनवादी व्यवस्थाको पूर्णरूपमा सुदृढीकरण नभई समाजलाई जबरजस्ती समाजवादको सपना देखाउने र पुगेको भनेर घोषणा गर्ने कुराको विरुद्धमा नै उहाँले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । 

सर्वहारा श्रमजीवि जनताको असल प्रतिनिधिको रूपमा रहेको कम्युनिष्ट पार्टीले समाजको वस्तुतगत परिस्थिति परिपक्व नभई र आत्मगत अवस्था सुदृढ नभई समाजवादमा फड्को मार्ने काम गर्नु हुँदैन । यसबाट लाभ भन्दा पनि हानी नै बढि हुन्छ । बरु संघर्षद्वारा प्राप्त भएको जनवादी व्यवस्थाको सुदृढीकरणमा जोड दिनु पर्दछ र समाजवाद हासिल गर्ने परिपक्व परिवेश निर्माण गर्नुपर्दछ । 

समाज परिवर्तनको ध्येय राख्नु र सो अनुसार सक्रियतापूर्वक अघि बढ्नु एउटा कुरा हो तर लक्ष्य प्राप्तिको माध्यम पनि जनप्रिय र सहज हुनुपर्दछ भन्नेमा जबजका सर्जक जननेता स्पष्ट हुनुहुन्थ्यो । त्यहि भएर उहाँले समाज परिवर्तनको मार्गमा अग्रसर हुँदा उग्रवामपन्थी गल्ती नगर्न “राम्रै कामका निम्ति पनि जनतालाई जोर जबर्जस्ती गर्ने होइन, स्वेच्छिक समर्थन हासिल गर्ने तरिका हो । हामी राम्रो काम पनि नराम्रो तरिकाले होइन, सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने कुराको पक्षमा रहेका छौँ । त्यसकारण हामीले जनताको जनवादी व्यवस्थालाई एउटा अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्थाको रूपमा स्वीकार गरेका छौँ” भन्नुभयो ।  

माक्र्सवादको सहि प्रयोगको सन्दर्भमा माक्र्सवादी दर्शनका विश्लेषक एवं व्याख्याता भिक्टर आफानास्येभले भनेका छन्– माक्र्सवादी दर्शन जगतको बोध र परिवर्तनको शक्तिशाली सैद्धान्तिक अस्त्र हो । परन्तु यसप्रति रचनात्मक दृष्टिकोण र यसका नियम तथा सिद्धान्तहरूको अभिव्यक्ति हुने निश्चित ऐतिहासिक स्थितिको राम्रो बोधको अवस्थामा मात्रै यसले आफ्नो भूमिका पूरा गर्न सक्तछ । यस प्रसिद्ध भनाईबाट पनि यो कुरा स्पष्ट हुन्छ कि माक्र्सवादले मार्गदर्शन गरेर स्थापित भएको सामाजिक आर्थिक व्यवस्था जस्तो कि ‘जनताको जनवादी व्यवस्था’को सुदृढीकरण नगरी समाजवाद आइहाल्यो भन्नु वा सदिक्षापूर्वक त्यसतर्फ अग्रसर भइहालौँ भन्नु वस्तुवादी क्रान्तिकारी दृष्टिकोण होइन । यो त एउटा दुस्साहसवादी र उग्रवामपन्थी भूल हो । यसले प्रतिक्रान्ति र प्रतिगमनलाई नै निम्त्याउँछ र अन्ततः कम्युनिष्ट आन्दोलनलाई निम्छरो पार्दछ । सबैलाई चेतना भयाः 

क्रमशः

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ०३ बजे