साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

भरतपुर – पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।

दुराले चलाएको बसले शनिबार साँझ ना४०प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको मृतकका आफन्त दीपक दबाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्त्येष्टिमा ढिलाइ भएको हो । भरतपुर अस्पतालमा शव परीक्षण गरेर अन्त्येष्टिका लागि लगिएको हो ।”

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उहाँकी छोरी १७ वर्षीया विनिशा अधिकारी र उहाँको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी रहेका छन् । जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नंको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोहनसहित स्कुटरको पछाडि सवार दुई छोरीको मृत्यु भएको थियो । बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

रत्ननगर बसपार्क सञ्चालनमा 

चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको नगरपालिकाका प्रमुख नारायण वनले बताउनुभयो । नगरपालिकाको रु एक करोड २० लाखको लगानीमा बसपार्क निर्माण गरिएको । टाँडी बजारको सुन्दरताका लागि आकाशे पुलपछि बजारको बीच भागमा पर्ने गरी बसपार्क निर्माण गरिएको प्रमुख वनले बताउनुभयो । बकुलहर, सौराहाचोक र टाँडीचोकबाट चल्ने म्याजिक, पर्यटकीय बस तथा तीनपाङ्ग्रे सवारी साधन बसपार्कमा पार्किङ हुने उहाँले जानकारी दिनुभयो ।

नगरभित्र पूर्वाधार निर्माणको काम तीव्ररुपमा भइरहेको भन्दै उहाँले अब हरियाली र सुन्दर पर्यटकीय शहरका रुपमा नगरलाई विकास गर्ने अभियानमा नगरवासीको साथ चाहिएको बताउनुभयो । “सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हामीले दर्जनौँ मुद्दा खेपिरहेका छौँ”, प्रमुख वनले भन्नुभयो, “जग्गा नभई पूर्वाधार बन्दैनन्, साझा हितका लागि हामी अझै मुद्दा खेप्न तयार छौँ ।” कार्यक्रममा उपप्रमुख विमला दुबाडीले बजार क्षेत्रमा हुनसक्ने सवारी साधनको चापलाई मध्यनजर गरी चिटिक्कको बसपार्क सञ्चालनमा ल्याइएको बताउनुभयो । 

खुला महिला दौडमा खिमकुमारी पहिलो
      
पश्चिम चितवनको पर्यटकीयस्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि आयोजित खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ पहिलो हुनुभएको छ । झण्डै दुई किमी दूरीको दौड गुरुङले छ मिनेट ५६ सेकेन्डमा पूरा गरी पहिलो हुनुभएको हो । चितवनकी रजिना श्रेष्ठले छ मिनेट ५७ सेकेन्ड दौड पूरा गरी दोस्रो तथा मकवानपुरकी सपना गुरुङले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो । सो दूरी सात मिनेटमा पूरा गरी लमजुङकी वाला गुरुङ चौथो हुनुभयो ।

पचासभन्दा बढी धावक सहभागी उक्त दौड प्रतियोगितामा पहिलो हुनेले नगद रु चार हजार ४४४, दोस्रो हुनेले रु तीन हजार ३३३, तेस्रो हुनेले रु दुई हजार २२२ तथा सान्त्वना हुनेले रु एक हजार १११ का साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिनुभयो । कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटकमार्फत चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको उहाँले बताउनुभयो । विगत १२ वर्षदेखि लियो क्लब अफ गीतानगरले खेलकूद क्षेत्रको विकाससँगै चार्डपर्वको बेलामा युवापुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुला दौड प्रतियोगिता गर्दै आएको छ । यसअघि ११औँ संस्करणसम्म पुरुष खुला दौड आयोजना गरेको क्लबले पहिलोपटक महिला दौड गरेको हो । सामुदायिक वनअन्तर्गत पर्ने बाटुली पोखरीमा हात्ती सयर, डुङ्गा सयरको व्यवस्था पनि छ ।
 
दक्षिणकाली मन्दिर धार्मिक पर्यटकीयस्थल हो । लियो क्लब अफ गीतानगर र योङ नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लब अफ गीतानगर, बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सहआयोजना रहेको थियो । कार्यक्रममा महिला खेलाडीलाई प्रोत्साहनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कान्ति महतो र बाटुली पोखरी प्रचारका लागि महत्वपूर्ण योगदान गरेको भन्दै हरिदत्त मिश्रलाई सम्मान गरिएको थियो । तराई होलीका अवसरमा सोमबार आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका–६ को दक्षिणकाली मन्दिरबाट भरतपुर–१३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो । 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : २४ बजे