स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

काठमाडौँ।  “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भन्नुभयो, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।”

स्नातक अध्ययन गरेर सामाजिक क्षेत्रमा क्रियाशील हुँदाहँुदै राजनीतिमा आकर्षित हुनुभएका बस्नेत आफ्नो वडामा जे परे पनि पुग्नुहुन्छ । खानेपानी, सडक विकास, दुःखसुखमा सामेल हुने गर्नुभएको छ । “म मतदाताको घरघरमा पुगेको छु, दुःख सुखमा साथ दिएको छु”, उहाँले उत्साहित भएर थप्नुभयो, “मतदाताले महसुस हुने गरी काम गरेको छु ।”

विद्यालयमा पढ्दै १५ वर्षको उमेरदेखि नै वडाको युवा सङ्घमा आबद्ध भएर राजनीतिमा प्रवेश गर्नुभएका बस्नेतसँग उक्त नगरको युवासङ्घ अध्यक्ष र युवासङ्घ ललितपुर जिल्लाको कोषाध्यक्ष भएर काम गरेको अनुभव छ । “समाजको विकासका लागि मूल नीति भनेको राजनीति नै हो भन्ने भनेको मलाई लाग्यो”, उहाँले राजनीतिप्रति आफ्नो मोह बढ्नुका कारण सुनाउँदै भन्नुभयो, “मुलुकको विकास, सुशासन र समृद्धिका लागि राजनीति नै रैछ, त्यसका लागि युवा नेतृत्वको आउनुपर्छ ।”

आफूले फोहर व्यवस्थापन, खानेपानी, विकास निर्माणका काममा सक्रिय भएर काम गरिरहेको र निर्वाचन जितेमा थप क्रियाशील भएर काम गर्न प्रोत्साहन र नैतिक बल पुग्ने उहाँको ठम्याइ छ ।रासस
 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५६ बजे