आचार संहिताको धज्जी उडाउँदै बलेफी काँग्रेस होला त कारबाही ?

सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ११ दिन बाँकी छ । यो सँगै सिन्धुपाल्चोकमा पनि राजनीतिक दलहरूको सरगर्मी बढ्न थालेको छ । दलहरूले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । तर,चुनावी प्रचार प्रसारलाई महत्वकासाथ अघि बढाए पनि निर्वाचन आयोगले तोकेको आचार संहितालाई भने बलेफी काँग्रेसले धज्जी उडाइरहेको छ ।  

नेपाली काँग्रेसबाट बलेफी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका सुवास तिमल्सिनाले घरदैलो कार्यक्रममा जाँदा आफ्नो फोटोसहित आफूलाई विजयी गराउन भनिएको टिसर्ट कार्यकर्तालाई वितरण गरेका छन् । बलेफी काँग्रेसले चुनावी प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगलाई बेवास्ता गरी आफ्नो चित्राकृति भएको टिसर्ट कार्यकर्तालाई वितरण गरेको हो  । 

निर्वाचन आयोगको स्पष्ट आचारसंहितामा जुलुस वा आससभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो वा स्टिकर वा कपडा वा क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने प्रावधान छ । तर,बलेफी काँग्रेसले निर्वाचन आयोगलाई बेवास्ता गरी मनोमानी गरेको छ । निर्वाचन आयोगको आचार संहिता विपरीत गरेको चुनावी प्रचार प्रसारलाई आयोगले के गर्छ भन्ने कुरामा यति बेला  संशय पैदा भएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४८ बजे