‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राजनीतिक दलहरूमा ह्रास उन्मुख सैद्धान्तिक मूल्य र मान्यता

नेपालको वर्तमान संसदीय शासन प्रणालीमा राजनीतिक दलहरूको सर्वाधिक महत्त्व र भूमिका हुन्छ । राजनीतिक दलहरूको आफ्नै दर्शन, सिद्धान्त, विचार एवं आदर्श तथा आस्था र  मूल्य मान्यता हुन्छन् । त्यही मूल्य मान्यता र आस्थालाई स्विकार्दै आम जनताहरू निश्चित राजनीतिक पार्टीको वरिपरि गोलबन्धन हुन्छन् । नेतृत्व गर्नेलाई नेता र नेताभन्दा तल्लो तह अर्थात् भुईँ तहमा रहेर दलको उद्देश्य अनुरूप प्रचार प्रसार वा सङ्गठन निर्माणमा क्रियाशील हुनेलाई कार्यकर्ता भनिन्छ । 

हरेक नेता र कार्यकर्तालाई उनीहरूको क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवारी सुम्पने गरिन्छ । कोही पनि कार्यकर्ता होस् वा नेता दलीय अनुशासनमा रही दलमा अनुबन्धित हुन्छन् । पार्टीले दिएको जिम्मेवारीलाई सबैले निर्वाह गर्नुपर्छ । हरेक राजनीतिक दलहरू आफ्नो देशको र जनताको सेवामा निस्वार्थ रूपमा लाग्छन् भन्ने मान्यता हुन्छ । तर अहिले  स्थानीय निर्वाचनमा दलका नेता तथा कार्यकर्तामा राजनीतिक उद्देश्य कम निजी स्वार्थ बढी प्रकट भएको छ ।  जहाँ देश र जनताको सेवालाई लत्त्याउँदै व्यक्तिगत स्वार्थलाई सर्वोपरि मान्ने प्रवृत्तिको विकास हुन्छ, त्यहाँ राजनीतिक मूल्य मान्यता र आदर्शमा विचलन आउँछ । अहिले हरेक राजनीतिक दलमा आफ्नो दर्शन, सिद्धान्त र आदर्शलाई कायम राख्नुभन्दा व्यक्तिगत स्वार्थका लागि राजनीतिलाई माध्यम बनाइएको छ ।

खास गरी अहिले राजनीतिक दलहरू र तिनका कार्यकर्तामा जे जस्ता परिदृश्यहरू देखा परे, त्यसले नेपालको वर्तमान संवैधानिक व्यवस्था र निर्वाचन प्रणालीमा नै चुनौती थपेको छ । स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटदेखि मनोनयन दर्तासम्मका घटनाक्रमलाई नियाल्ने हो भने राजनीतिक दल र कार्यकर्तामा राजनीतिक संस्कार पटक्कै पाइएन । टिकट पाउँदा सबै थोक पाएको मान्ने र नपाउँदा सबै गुमाए जसरी रोष व्यक्त गर्ने जुन प्रवृत्ति देखापर्यो त्यसले राजनीतिक मूल्य मान्यता हराउँदै गएको पुष्टि गर्छ  । त्यसैगरी प्रचार प्रसारको क्रममा अभिव्यक्त आपसी आरोप र लाञ्छनाले पनि हाम्रो परम्परागत सभ्य संस्कार र संस्कृतिलाई चुनौती दिएको छ । 

वास्तवमा गत वर्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई अपदस्थ गर्न तथा नेकपालाई विभाजन गर्नलाई जुन प्रकारका क्रियाकलापहरू भए त्यसका बाछिटाहरु अहिले देखा पर्दैछन् । कम्युनिष्ट आदर्शबाट च्यूत भई आफ्नै पार्टीको सरकारलाई ढाल्ने पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल र झलनाथ खनालहरूले आफ्नो आदर्श र सिद्धान्तलाई त्यागे । उनीहरूले अवलम्बन गरेको गैर सैद्धान्तिक र गैर राजनीनितिक बाटोबाट नेपाली काँग्रेसलाई बोक्न पुगे । त्यही विन्दुबाट नेपालको राजनीतिको सिद्धान्त  र मूल्य मान्यतामा थप ह्रास आउन थालेको हो । 

एउटा दलले प्राप्त गरेको जनमत अर्को पार्टीलाई सुम्पने कामले राजनीतिक आदर्शलाई धुमिल गराउने काम गर्‍यो ।  माकुनेहरुमा आएको राजनीतिक विचलन र निम्न पुँजीवादी तथा उपभोक्तावादी सोँचले राजकीय सुविधालाई बढी महत्त्व दिइयो । सत्तामा पुग्नका लागि कुण्ठा र आतुरताले नेपाली राजनीतिलाई गिजोल्ने र थप विकृत बनाइयो । सत्ता बाहिर रहेर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने भावनामा कुठराघात गरियो । धैर्यता र संयमता अपनाइएन् । जसरी पनि सत्तामा पुग्नका लागि शीर्ष तहमा रहेका नेताहरूले नै खराब चरित्र प्रदर्शन गरे त्यसरी नै त्यसको प्रभाव कार्यकर्तामा पर्न थालेको छ । 

यसको ज्वलन्त उदाहरण स्थानीय निर्वाचनको क्रममा दल अदलबदल र विद्रोह गर्ने क्रियाकलापलाई लिन सकिन्छ । हो, सिद्धान्त र व्यवहार नमिल्दा आफूले मन पराएको दल रोज्न पाइन्छ तर जुन रूपमा यो प्रवृत्ति देखा परेको छ, यसले दलीय प्रणालीलाई नै कमजोर बनाउने छ ।  

वस्तुतः नेपालको राजनीतिमा मुख्यतया प्रगतिशील र यथास्थितिवादी  शक्तिहरूबिचको सङ्घर्ष निरन्तर रूपमा चल्दै आएको छ । प्रगतिशील समाजको निर्माण गर्दै वास्तविक रूपमा समाजवादको स्थापना गर्ने लक्ष्य लिएको वामपन्थी शक्ति र लोकतन्त्रको नाममा शोषण उत्पीडनलाई कायमै राख्ने पुँजीवादी शक्ति नेपाली काँग्रेसबीचको मुख्य प्रतिस्पर्धा अहिले पनि कायम छ । 

नेपाली काँग्रेसले दलाल पुँजीपतिहरूको संरक्षण गर्दै राजनीतिक रूपमा दक्षिणपंथीहरुको सेवा गर्दछ । परम्परागत रूपमा रहेका अनुदानवादी शक्तिहरू यसका वरिपरि अटेका छन् । राष्ट्रियता जनजीविका र समाजको प्रगतिशील रूपान्तरणका लागि अहिले पनि नेपालको वामपन्थी शक्ति हो । 

तर विडम्बना ! नेपालको इतिहासमा झन्डै दुई तिहाइ जनमतसहितको आफ्नै सरकारलाई अपदस्थ गराई सर्वोच्चको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गराउने जुन हर्कत प्रचण्ड र माकुनेहरुले गरे त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याएको छ  । 

अहिलेको आवश्यकता वामपंथीहरुबीचको बृहत्तर सहकार्य र एकता भएता पनि नेकपा एमाले र खास गरी यो पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीलाई सिद्धाउने नाममा मुलुकको वामपन्थी आन्दोलनमा ठुलो घात गरेका छन् । कम्युनिष्ट आदर्श र सिद्धान्तबाट विमुख भई नितान्त आफ्नो स्वार्थका लागि मरिमेट्ने प्रचण्ड माकुनेहरु दक्षिणपन्थी अवसरवादमा परिणत भइसकेका छन् । उनीहरूले सत्तामा रहरिहनका लागि जे कोहीसँग पनि साँठगाँठ गर्न पछि पर्दैनन् । 

बि.पि.को आदर्शलाई मान्ने नेपाली काँग्रेस पनि सत्ता टिकाउनका लागि जे गर्न पनि तयार देखिन्छ । दक्षिणपन्थी अवसरवाद र अराजक भइसेकेका माकुने र प्रचण्डहरूले स्थानीय निर्वाचनमा गठबन्धनका नाममा जुन खालको धृष्टता प्रदर्शन गरेका छन् त्यसले मुलुकको प्रमुख वामपन्थी शक्तिको रूपमा रहेको नेकपा एमालेलाई केही नोक्सान होला तर त्योभन्दा बढी नेपालको कम्युनिष्ट आन्दोलन पछि पर्ने खतरा देखिन्छ । 

त्यो खतरालाई निस्तेज गर्न र मुलुकको वामपन्थी आन्दोलनलाई जोगाउन पनि नेकपा एमालेको विजयलाई सुनिश्चित गराउनुपर्ने अपरिहार्य छ । आफ्नो आदर्श र सिद्धान्तलाई त्यागी  नेकपा एमालेलाई तह लगाउने नाममा बनेको लोभी पापीहरूको ५ दलीय गठबन्धनले नेपाली राजनीतिलाई फोहर मात्रै बनाएको छैन, लोकतान्त्रिक पद्धतिको मुटुमा नै प्रहार गरेको छ । 

यो गठबन्धन रहेसम्म राजनीतिमा अझ विकृति थपिने छ । त्यति मात्रै होइन आफ्नो दलले जित्छ भन्ने आत्मविश्वास गुमाएको ५ दलीय गठबन्धन भित्रका दलहरूले संविधानले प्रत्याभूत गरेको मौलिक अधिकारमाथि पनि धावा बोल्ने गरेका छन् । यिनीहरूले अहिले नै स्वतन्त्र रूपमा उम्मेदवार भएका व्यक्तिहरूको मौलिक हकमाथि पनि प्रहार गरेका छन् ।  

त्यसको पछिल्लो उदाहरण नेपाली काँग्रेसको चितवनका पाका नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन स्वयं बहालवाला गृहमन्त्रीले दिएको दबाबलाई लिन सकिन्छ । यिनीहरूले जनताको मन जितेर चुनाव जितिन्छ भन्ने आधार त गुमाएका छन् नै त्यसैगरी देशव्यापी रूपमा बागी उम्मेदवारी फिर्ता गराउनका लागि राज्य शक्तिको चरम दुरुपयोग समेत गरेका छन् । 

वैशाख ३० गते पनि यिनीहरूले राज्यको स्रोत साधनलाई चरम रूपमा दुरुपयोग गर्ने प्रयत्न गर्नेछन् ।  धाँधली गर्ने कुचेष्टा गर्नेछन् । यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका शक्तिहरू बढी सतर्क र सजग हुनुपर्ने देखिन्छ । ५ दलीय गठबन्धन नितान्त निजी स्वार्थ सिद्धिका लागि भएकाले पनि देशभक्ति एवं वाम लोकतान्त्रिक शक्तिहरूका लागि यो स्थानीय निर्वाचन चुनौतीपूर्ण छ । 

देशको राष्ट्रियता एवं जनजीविका तथा विकास र समृद्धिको बाधकको रूपमा रहेको यो गठबन्धनको पराजय अनिवार्य छ । यो गठबन्धन वामपन्थी आन्दोलनको विरोधी  पनि छ । नेपाली कम्युनिष्ट आन्दोलनको विरोधमा रहेको नेपाली काँग्रेस र यसका मतियारहरू प्रचण्ड र माकुनेहरुलाई पराजित गरेमा मात्र नेपाली राजनीतिको शुद्धीकरण पनि  यिनीहरूले  विकृत र विरूप बनाएको राजनीतिलाई सफाइ गर्नु पर्नेछ ।  त्यसका लागि नेकपा एमालेका प्रतिनिधिहरू देशव्यापी रूपमा जित्नै पर्छ । त्यसपछि मात्र वास्तविक अर्थमा  सिद्धान्त तथा विचार र मूल्य मान्यताको सही राजनीतिक बाटो तय गर्न सजिलो हुनेछ । अस्तु । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ४६ बजे