चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज हेटौँडा जानुहुँदै

काठमाडौँ । नेकपा पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (भोलि) हेटौँडा जानुहुने भएको छ । 

आसन्न स्थानीय चुनावी सभा तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौँडा  जान लाग्नुभएको हो । 

एमालेले हेटौँडा उपमहानगरपालिकास्थित हुप्राचौर परिसरमा उपमहानगरस्तरीय अन्तिम चुनावी सभा गर्न लागिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । 

पार्टी अध्यक्षको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढी जनसहभागितामा चुनावी सभा गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

उहाँले हेटौँडा उपमहानगरका विभिन्न चार वटा स्थानबाट पैदल र्‍याली गरी हुप्राचौरमा जम्मा भएर १२ः०० बजे कार्यक्रम सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष ओलीले १ः०० बजे सम्बोधन गर्नु हुने जानकारी दिनुभयो । 

प्रसार प्रचार समितिका संयोजक धुब्रप्रसाद चौलागाईले कार्यक्रममा तीन सय जनाको स्वयंसेवा परिचालन गरिएको भन्नुहुँदै पार्टी प्रवेश कार्यक्रम समेत रहेको जानकारी दिनुभयो । 

चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरू सहभागी हुने मकवानपुर एमाले पार्टी कार्यालयले जनाएको छ ।  

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ४१ बजे