वैशाख ३० गतेको निर्वाचनमा जनताले उचित फैसला गर्छन् : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तारुढ गठबन्धनले लगाएको आरोपलाई ‘जो चोर उसैको ठुलो स्वर’ को संज्ञा दिनुभएको छ । 

सत्ता गठबन्धन जनतामा जाने कुरालाई प्रतिगमन भन्ने कुरा र आफैले विगतमा संसद् विघटन गरेको तथ्य स्मरण गराउँदै नेम्वाङले यस्तो संज्ञा दिनुभएको हो ।

“गाउँतिर एउटा भनाई छ नि जो ‘ उसैको ठुलो स्वर’ ठ्याक्कै त्यही भइरहेको छ अहिले । सत्तारुढ गठबन्धन आफ्नो अपराध अरूमाथि थोपरिरहेको छ, त्यसैले उनीहरूले लगाउने गरेको केपी ओलीमाथिको आरोप जो चोर उसैको ठुलो स्वर मात्रै हो”, उहाँले भन्नुभयो ।

नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको चुनावी अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष नेम्वाङले गठबन्धनले आफू बदमासी गर्ने तर आरोप भने एमाले र यस पार्टीका अध्यक्ष केपी ओलीमाथि लगाउने गरेको तथ्यलाई जनताले बुझिसकेको प्रस्ट पार्नुभयो ।

“गठबन्धन आफू बदमासी गर्ने, दोष केपी ओली र एमालेमाथि थोपर्ने काममै व्यस्त छ, तर जनताले यिनीहरूको अपराधको बहिखाता तयार पारिसकेका छन्”, नेम्वाङले भन्नुभयो । 

उहाँले वैशाख ३० गतेको निर्वाचनमा जनताले उचित फैसला गर्ने भन्दै शिर ठाडो र छाती चौडा पारेर जनताको बीचमा जान एमालेका सबै नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।

''वैशाख ३० गते जनताको अदालतले फैसला गर्ने छ । जनताको निर्णय कसको पक्षमा हुन्छ रु एमाले र केपी ओलीको बाकस खाली हुन्छ कि पार्टी फोडेर अरूको सेवामा जानेहरूको बाकस खाली हुन्छ ? कसले धूलो चाट्छ?'', उपाध्यक्ष नेम्वाङले भन्नुभयो,“ती मित्रहरूलाई सबक सिकाउने समय आइसक्यो, अब धेरै दिन बाँकी छैन । जनताको निर्णयले त्यो प्रमाणित हुनेछ, पार्टीबाट जितेर अन्त जानेहरूले नै धुलो चाट्छन्, जनताले सजाय दिनेछन् ।”

उहाँले सत्तारुढ गठबन्धनको अपराधले सीमा नाघेको तथ्य पनि राख्नुभयो । मुलुककै प्रतिष्ठामाथि आँच आउने काम गर्नबाट रोक्दा गभर्नरमाथि कारबाही गरेको तर अदालतले बदनीयतपुर्ण भनेको प्रसङ्ग निकाल्दै नेम्वाङले भन्नुभयो,“कालो धन रोक्दा, अमेरिकाले कालो धन रोक्न भनेपछि कानुनअनुसार काम गर्दा गभर्नरमाथि कारबाही गरियो, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर छानबिन गर्नु भन्दा संसद् नै अन्त्य गरियो,’ नेम्वाङले भन्नुभयो, ‘यस्ता अपराधका फेहरिस्त छन्, जनताले बुझेका छन्, बस तपाई हामी शिर ठाडो पारेर जनताको बीचमा जानुपर्छ, धुलो चटाउनु पर्ने को रैछ जनताले निर्णय गर्नेछन्, शिर ठाडो, छाती चौडा बनाएर जनतामाझ जानोस्, एमालेको विजयलाई कसैले रोक्न सक्दैन।’”

उहाँले नेपालमा जस्तो संसारमा कतै पनि प्रतिपक्षविरुद्ध सत्तापक्ष यसरी हुल बाँधेर आएको घटना आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले जनता आफूहरूको विपक्षमा रहेको थाह पाएरै गठबन्धन सत्ताको चरम दुरुपयोगमा उत्रिएको बताउनुभयो ।

“अहिले सत्ताको चरम दुरुपयोग भएको छ । आचारसंहिताको उलङ्घन भइरहेको छ । उम्मेदवार फिर्ता गर भन्दै घरघरमा मन्त्रीहरू गएका छन्, यो निर्वाचन आयोगमाथि घात हो”, उपाध्यक्ष नेम्वाङले भन्नुभयो ।

एमालेकै कारण चुनाव सम्भव भएको भन्दै अझै पनि गठबन्धन सार्ने प्रयासमा भने निरन्तर लागिरहेको नेम्वाङले बताउनुभयो ।

“अन्तिम समयसम्म चुनाव सार्ने खेलमा सत्ता गठबन्धन थियो । तर हाम्रो कारण सम्भव भएन । हाम्रो अध्यक्ष कमरेडको अडानले निर्वाचन समयमा हुने अवस्था आयो”,  नेम्वाङको भनाई थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य द्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले दोलखाको सबै स्थानीय तह एमालेले जित्ने ठोकुवा गर्नुभयो । दोलखाका सबै स्थानीय तहमा विजयको झण्डा फहराउने उद्घोष पनि गर्नुभयो ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : ५१ बजे