सूर्य चिन्हमा भोट माग्दै नेपाली काँग्रेसका नेताहरू

काठमाडौँ । यही  वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेपाली काँग्रेसको टिकटबाट व्यास नगरपालिका– १ को वडा सदस्य चुनिनुभएका चूडामणि दाहाल यो पटक पनि उम्मेदवार हुनुभएको छ  ।

यो पटक वडाध्यक्षमा उठ्नुभएका उहाँसँग २०७४ को चुनाव चिन्ह रुख छैन । व्यास नगरपालिका–२ का दीर्घ बहादुर थापा पनि काँग्रेसका क्रियाशील सदस्य हुनुहुन्छ । उहाँ पनि वडाध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँहरू दुवै जना अहिले रुखमा हैन, सूर्यमा चिन्हमा भोट माग्न व्यस्त हुनुहुन्छ ।

थापा र दाहालले एमालेको चुनाव चिन्हमा भोट माग्नुको कारण हो, जोशी समूह र एमालेबीच तालमेल । नेपाली काँग्रेससँग असन्तुष्ट गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग तालमेल गरेको छ ।

प्रमुख, उपप्रमुख र वडाध्यक्ष पाएको पालिकामा जोशी समूहले स्वतन्त्र चुनाव चिन्ह लिने छन् । वडा सदस्य मात्रै भएका ठाउँमा भने जोशी समूहका उम्मेदवारको पनि चुनाव चिन्ह पनि सूर्य नै छ । त्यसैले भोट माग्दा पनि साथमै हुनुहुन्छ उहाँहरू । 

जोशी समूहबाट व्यास–१ को वडा अध्यक्ष उम्मेदवार बन्नुभएका दाहालले भन्नुभयो, ‘तालमेल भएपछि त भोट माग्न परिहाल्यो । मैले चाहिँ सूर्य चुनाव चिन्ह लिएको छैन, निर्वाचन कार्यालयले के दिन्छ त्यही लिने हो ।”

त्यस्तै, व्यास –२ का वडाध्यक्षका उम्मेदवार थापा काङ्ग्रेसबाटै वडाध्यक्ष लड्न चाहनुहुन्थ्यो । तर पार्टीले टिकट दिएन ।त्यसपछि उहाँले एमालेसँग तालमेल गरेको जोशी समूह रोजे र वडाध्यक्षको उम्मेदवार बन्नुभयो । उम्मेदवार बन्नु भएकाहरू मात्र हैन, तनहुँमा काँग्रेस भनेर चिनिएका र सक्रिय भएर लागेका कृष्णप्रसाद भट्टराई, सूर्य अधिकारी, नोमा थापा, केशु गुरुङ, टेकबहादुर आले, भोज बहादुर आले, पुण्यप्रसाद भट्टराई, भेषबहादुर थापा, ओमबहादुर थापा, यमबहादुर थापा, चिरन थापा, मोती थापा, तीर्थ विक, सीताराम बानियाँ लगायतले जोशी समूहमा आएर भोट माग्नुभएको छ  ।

जोशी समूहबाट व्यास नगरपालिकामा प्रमुखमा दीपकराज जोशी उम्मेदवार हुनुहुन्छ भने उपप्रमुखमा एमालेकी वसुन्धरा घर्तीले उम्मेदवारी दिनुभएको छ ।

जोशी समूहले व्यासकै चार वटा वडाध्यक्ष पाउने सहमति अनुसार वडा नम्बर १, २, १२ र १४ वडाध्यक्षमा जोशी समूहलाई समर्थन गर्ने भन्दै एमालेले उम्मेदवार उठाएको छैन । 

त्यस्तै, बन्दीपुरको उपाध्यक्षमा जोशी समूहकी फूलमती थापा र वडा नम्बर २ को अध्यक्ष मा पनि जोशी समूहकै उम्मेदवार रहनुभएको छ । भानु नगरपालिकाको उपप्रमुखमा जोशी समूहका केशरबहादुर गुरुङसहित वडा नम्बर ५, ११ र १३ को वडाध्यक्षमा जोशी समूहकै उम्मेदवार हुनुहुन्छ ।

आँबुखैरेनीमा वडा नम्बर २ र ५ को अध्यक्षमा जोशी समूहका उम्मेदवार हुनुहुन्छ । जोशी समूहबाट वडाध्यक्षको उम्मेदवार रहेको ठाउँमा एक जना वडा सदस्य जोशी समूहकै हुनुहुन्छ । एमालेको वडाध्यक्ष भएको वडामा दुई जना वडा सदस्य जोशी समूहका हुनुहुन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ५८ बजे