सिन्धुपाल्चोकको सुनकोशीमा फेरियो समीकरण : एमाले र माओवादीबीच चुनावी तालमेल

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । 

माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिनुभएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबीच सहमति भएको हो ।

गाउँपालिका स्तरीय नेताहरुबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइने भएको छ । वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् ।

त्यस्तै, नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ । नेताहरूले चुनावी तालमेलबारे आज साँझ पत्रकार सम्मेलन गर्दैछन् ।

सुनकोशी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट श्रवण जिसी उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ४६ बजे