केशव स्थापितलाई प्रश्न सोध्दै माफी माग्न लगाउने युवती भावना राउत पार्टीको अमुक कार्यकर्ता

​​​​​​​काठमाडौँ ।  केशव स्थापितलाई उत्तेजित बनाउने गरी प्रश्न सोध्ने युवती भावना राउत पार्टीको अमुक कार्यकर्ता भएको खुलासा भएको छ । 

नेशनल कलेजले राउत आफ्नो विद्यालयको नभएको बताइसकेको छ भने उनको फेसबुक वाल हेर्दा उनी रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको पूर्व कार्यकर्ता भएको स्पष्ट हुन्छ ।

विवेकशील साझा पार्टीमा लफडा, रवीन्द्र मिश्र अल्पमतमा शीर्षक राखिएको एउटा मिडियाको भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘अब त कहिले म यो पार्टी मा आबद्ध थिए भन्न नि लाज लागेको छ। निर्देश जी तपाई त झनै ठुलो विश्वासघात गरेको पात्र हो, अब विधि र विधान का कुरा तपाई का मुख बाट चैँ पटक्कै सुहाउदैन्। तपाई र मिश्र प्रवृत्ति मा के फरक छ? के आधार मा आफू लाई अन्याय भो भन्नु भएको? नाम मात्रै फरक हो तपाईँहरूको, नियत र कर्म उस्ता उस्तै छ। उहाँहरू लाई विश्वास गरेर फेरि आफू भ्रम मा नपर्न सबैलाई अनुरोध!!’ हेर्नुस् उनको फेसबुक स्ट्याटसको स्क्रिन सट:–

कलेजले आज एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थामा भएको राजनीतिक र नीतिगत बहस अन्यत्रै मोडिएर कलेज समेत विवादित बन्न पुगेको भन्दै कलेजले दुख व्यक्त गरेको छ ।

नेशनल कलेजले आयोजना गरेको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितसँग एक युवतीले म टु आरोप लागेको भन्दै प्रश्न गरेकी थिइन् । कलेजले स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयरहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा भएको विवादका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसको जवाफमा उम्मेदवार स्थापितले यु आर नाइस लेडी तर थुतुनो ठिक छैन भनी युवतीमाथि टिप्पणी गरेका थिए । त्यही विषयले गर्दा कलेजले आयोजना गरेको राजनीतिक र नीतिगत बहस ओझेलमा परेको भन्दै कलेजले दुख व्यक्त गरेको हो ।

कलेजले स्थापितलाई प्रश्न गर्ने विद्यार्थी नेशनल कलेजको नभएको समेत स्पष्ट पारेको छ । स्थापितलाई प्रश्न गर्ने युवती राउतले एमाले नेता कार्यकर्ताहरूको विरोध समेत गर्दै आएकी छन् ।

प्रहार न्युजबाट

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ०७ बजे