बीरगञ्ज महानगरपालिकामा १० हजार मतान्तरले जित्नेछौँ : सरावगी

काठमाडौँ । विजयकुमार सरावगी आर्थिक, सामाजिक एवम् राजनैतिक क्षेत्रको स्थापित नाम हो । 

आर्थिक क्षेत्र बीरगन्ज उद्योग वाणिज्य सङ्घ र बीरगञ्ज महानगरपालिकाको कुशल नेतृत्व गरिसक्नुभएका सरावगी आउँदो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बीरगञ्ज महानगरपालिकाको प्रमुखको उम्मेदवार हुनुहुन्छ ।

गत निर्वाचनमा १९ हजार १९७ मत ल्याएर विजयी हुनुभएका सरावगी यस पटक १० हजार मतान्तरले विजयी हुने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “राजनीति सेवा हो तर केही राजनीतिक पार्टीका नेताहरूले राजनीतिलाई पेसा नै बनाएका छन् ।” 

बीरगञ्जको विकास गर्न कुनै नेताले चासो नदिएपछि आफू बाध्य भई राजनीतिमा निःस्वार्थ रूपमा सामाजिक कार्य गर्ने भाव लिएर आएको उहाँ बताउनुहुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माथि विश्वास देखाउनुभएकोमा आभार व्यक्त गर्दै उहाँले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान साकार पार्न लाग्ने सरावगी बताउनुहुन्छ । 

व्यापारिक घरानामा जन्मिएर उद्योग व्यापारको लामो अनुभव सँगालेपछि समाज परिवर्तनको उत्कट अभिलाषा बोकेर राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ उहाँ। बि.स.२०२४ भदौ २३ गते (सेप्टेम्बर ८, १९६७) मा पिता चिरञ्जीवीलाल सरावगी र माता पद्मादेवीका ज्येष्ठ सन्तानको रूपमा वीरगञ्जमा जन्मिएका सरावगीको बाल्यकाल आर्थिक तथा औद्योगिकशहर वीरगञ्जकै काखमा बित्यो । सुरु शिक्षा दीक्षा वीरगञ्जबाटै पाएका उहाँ व्यवस्थापन विषयमा स्नातक गरेर पुस्तैनी उद्यममा प्रवेश गर्नुभयो ।

कर्मप्रति उहाँको नयाँ शैली र सोचले व्यवसायलाई गति मात्र दिएन, उहाँमा नेतृत्व क्षमता पनि प्रखर रूपमा विकास हुँदै गयो । उहाँ अहिले उदीयमान औद्योगिक तथा व्यापारिक घराना सरावगी ग्रुपको प्रबन्ध निर्देशक हुनुहुन्छ । यस अलावा शिक्षा, स्वास्थ्य र वित्तीय संस्थाहरूमा उहाँको नेतृत्वदायी भूमिका छ । एसिया मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, एसियन लाइफ इन्सुरेन्स कम्पनी, ज्ञानदा एकेडेमी जस्ता सेवा मूलक काम उहाँकै नेतृत्वका सफल उपक्रमहरू हुन् ।

२०७० सालतिर दलीय राजनीतिमा सक्रिय हुनुभएका सरावगी विद्यार्थी कालदेखि नै राजनीतिमा आबद्ध हुँदै आउनुभएको हो । अन्तर निहित व्यवस्थापकीय दक्षता र नेतृत्व क्षमताकै कारण उहाँले उद्योग व्यापार मात्र होइन, निजी क्षेत्रका अग्रणी संस्था हुँदै मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जको नेतृत्व गर्न सक्षम हुनुभयो । 

आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको उद्देश्यबाट ओतप्रोत सरावगीले विगतमा बारा र पर्सा जिल्लाका उद्यमी व्यापारीहरूको वर्गीय संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षको रूपमा नेतृत्व प्रदान गर्नुभयो । सङ्घको संस्थागत विकास र उद्यम व्यापारको हितका सन्दर्भमा उहाँको नेतृत्व अविस्मरणीय छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई कुशल अगुवाइ गरेका सरावगी यति मै रोकिनु भएन । समग्र उद्योगी व्यापारीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घमा तीन कार्यकाल कार्यकारिणी सदस्यको भूमिकामा रहनुभयो । महासङ्घमा व्यापार समितिको सह संयोजक रहेर नेतृत्व गर्नुभएका सरावगी नेपाल–भारत मानव विकास तथा मैत्री सङ्गठनमा उद्योग र व्यापार विभागका संयोजक हुनुहुन्छ ।

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरको प्रमुखमा निर्वाचन लड्दै पूर्णकालीन राजनीतिमा होमिएका सरावगी एक कुशल नेतृत्वकर्ताको रूपमा स्थापित हुनुहुन्छ ।

उद्यम, व्यापार र निजी क्षेत्रका संस्था हाँक्दा प्राप्त व्यवस्थापकीय अनुभवले उहाँलाई राजनीतिक सरोकारहरूको सम्बोधनलाई सहज बनायो । उद्यम व्यापारका क्षेत्रमा पाएको दक्षताले सरावगीलाई जनताका आवश्यकता र त्यसको परिपूर्तिको उपाय पहिल्याउन सघाउ पुगेको छ । परिणाम, सीमित स्रोत साधनमा खुम्चिएको वीरगञ्ज महानगरलाई विकासको बाटोमा सफलतापूर्वक अघि बढाउन सरावगी सक्षम हुनुभएको छ ।

कोरोना महामारीबाट जनजीवन आक्रान्त बनिरहँदा सरावगीको यही व्यवस्थापकीय शैलीमा आधारित रहेर सीमान्त सहर वीरगञ्जले महामारी नियन्त्रणमा अपनाएको मोडेल देशकै लागि उदाहरणीय बन्न पुगेको थियो । दक्ष व्यवस्थापक हुँदै कुशल राजनीतिज्ञको छवि बनाएका सरावगी समाज सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विगत २५ वर्षभन्दा लामो समयदेखि विभिन्न सामाजिक सरोकारका सङ्घ संस्थामार्फत समाज सेवाका आयामहरूमा सक्रिय हुनुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटी, मारवाडी सेवा ट्रष्ट, मारवाडी युवा मञ्च, लायन्स क्लब अफ वीरगञ्ज गेटवे लगायतका संस्थामार्फत सामाजिक सेवाको नेतृत्व लिएका सरावगी विश्व गायत्री परिवार नेपालको संयोजक र वीरगञ्ज योग विज्ञान शिविर पतञ्जलिको संयोजक एवम् पतञ्जलि योग पीठ हरिद्वार, भारतको कर्पोरेट सदस्यको रूपमा संस्कृति, अध्यात्म तथा योगमार्फत निरोग अभियानमा अविच्छिन्न लगाव राख्नुहुन्छ ।

स्थानीय भाषा संस्कृति र सञ्चारमाध्यमको प्रवर्द्धनलाई प्राथमिकताको अग्र भागमा राख्ने सरावगी एक समय स्थानीय सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष हुनुहुन्थ्यो । 

उहाँकै नेतृत्वमा वीरगञ्ज महानगरले भोजपुरी भाषाको संरक्षण र सञ्चारमाध्यमको प्रवर्द्धनका लागि कानुन ल्याउने नेपालमै पहिलो स्थानीय सरकारको रूपमा आफूलाई दर्ज गराएको छ । 

सामाजिक विकासलाई भौतिक विकासको आधार मान्ने सरावगी वीरगञ्जको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारलाई विशेष जिम्मेवारी ठान्नुहुन्छ । वीरगञ्जको नृसिंहमावि र सिद्धार्थ माविको व्यवस्थापनको नेतृत्वमा रहेर भौतिक स्तरोन्नतिमा उल्लेख्य काम गरेका सरावगीले वीरगञ्जका सामुदायिक विद्यालयको समग्र शैक्षिक अवस्था सुधारमा प्रशंसनीय काम गर्नु भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ४५ बजे