नेशनल कलेजले भन्यो – केशव स्थापितलाई प्रश्न उठाउने युवती हाम्रो कलेजको हैन

काठमाडौँ । नेशनल कलेजले स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयरहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा भएको विवादका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कलेजले आज एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थामा भएको राजनीतिक र नीतिगत बहस अन्यत्रै मोडिएर कलेज समेत विवादित बन्न पुगेको भन्दै कलेजले दुख व्यक्त गरेको हो । 

नेशनल कलेजले आयोजना गरेको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितसँग एक युवतीले `मि टु` आरोप लागेको भन्दै प्रश्न गरेकी थिइन् । 

त्यसको जवाफमा उम्मेदवार स्थापितले `यु आर नाइस लेडी तर थुतुनो ठीक छैन` भनि युवतीमाथि टिप्पणी गरेका थिए । त्यही विषयले गर्दा कलेजले आयोजना गरेको राजनीतिक र नीतिगत बहस ओझेलमा परेको भन्दै कलेजले दुख व्यक्त गरेको हो । 

 कलेजले स्थापितलाई प्रश्न गर्ने विद्यार्थी नेशनल कलेजको नभएको समेत स्पष्ट पारेको छ । 

विज्ञप्तिको पूर्णपाठ :

प्रेस वक्तव्य आज २०७९ वैशाख १५ गते नेशनल कलेजले स्थानीय निकाय निर्वाचनका सम्बन्धमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फबाट समेत मेयरका उमेदवारहरूसँग राखेको छलफल कार्यक्रमका सन्दर्भमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त संवाद कार्यक्रममा काठमाडौं महानगरपालिकामा मेयरका उमेदवार मध्ये नेकपा (एमाले)का केशव स्थापित, विवेकशील साझाकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उमेदवारहरू बालेन्द्र (बालेन) शाह र सुशील थापा उपस्थित हुनुहुन्थ्यो । नागार्जुन नगरपालिकामा मेयरका लागि स्वतन्त्र उमेदवारी दिनुभएका राजन कोइराला पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । काठमाडौं महानगरपालिकामा नेपाली कांग्र्रेसबाट मेयरका लागि उमेदवारी दिनुभएकी सृजना सिंहलाई समेत उपस्थित गराउने हाम्रो अथक प्रयास भने उहाँको व्यस्तताका कारण सफल हुन सकेन । उपस्थित सबैप्रति हामी कृतज्ञ छौं । विश्वभरि नै शैक्षिक संस्थामा हुने राजनीतिक र नीतिगत बहसलाई अत्यन्त महत्वका साथ लिइन्छ । उदाहरणका लागि अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा राष्ट्रपतिका उमेदवारबीच हुने बहस मध्ये धेरैजसो विश्वविद्यालयमा गर्ने गरिन्छ । शैक्षिक संस्थामा सचेत वर्ग हुन्छन् र त्यहाँ राजनीतिका गहन विषयहरूमा स्वस्थ र ज्ञानमा आधारित बहस हुनसक्छ भन्ने मान्यताका साथ यस्ता कार्यक्रम आयोजना गरिन्छन् । यसै सन्दर्भमा हाम्रा विद्यार्थीहरूको पहल र सक्रियतामा भएको यो कार्यक्रम नेपालमा पहिलो नभए पनि यसले एउटा मानक र उदाहरण स्थापित गर्ने विश्वास हामीले लिएका थियौं र छौं । नेपाली समाज, राज्य र जनजीविकाका महत्वपूर्ण विषयमा यस्ता संवाद र छलफल कलेजमा आगामी दिनमा पनि हामी गरिरहने छौं । आज झण्डै २ घण्टा ४५ मिनेट चलेको कार्यक्रममा वातावरण र पर्यावरण मैत्री विकास, सार्वजनिक खुल्ला क्षेत्रको व्यवस्थापन, सार्वजनिक सवारी, व्यवस्थित साइकल लेन र पैदल यात्री मैत्री बाटाघाटाका बारेमा उमेदवारका विचार र योजनाका बारेमा छलफल भएका थिए । साथै, कार्यक्रममा काठमाडौंको सामाजिक र सांस्कृतिक विकास, युवाका मुद्दा, महंगो हुँदै गएको निर्वाचन र त्यसले समग्रमा उमेदवार र राजनीतिमा पार्ने प्रभावका बारेमा छलफल समेत भएका थिए । यसमा उमेदवारले आफ्ना विचार व्यक्त गर्ने र विद्यार्थी र अन्य उपस्थितले प्रश्न र विचार राख्ने क्रम चलिरहेको थियो । छलफल वास्तविक मुद्दामा केन्द्रीत होस् भन्ने हाम्रो चाहना थियो । यसै क्रममा त्यहाँ उपस्थित एकजना उमेदवारलाई लक्षित गरेर एक महिला सहभागीले यौन हिंसाका बारेमा राख्नुभएको प्रश्न र त्यसमा उमेदवारले दिनुभएको उत्तरका कारण हाम्रो सिंगै कार्यक्रममा भएका महत्वपूर्ण छलफल छायाँमा परेकामा हामी दुःखीत छौं । प्रश्नकर्ता महिला कलेजको विद्यार्थी नभए पनि उहाँको प्रश्न गर्न पाउने अधिकार र वाक स्वतन्त्रताको अधिकारको हामी सम्मान गर्छौं । महिला र यौन हिंसाको सवालमा मानविकी तथा समाज विज्ञानका विभिन्न विषय अध्ययन हुने यो कलेज बोली र व्यवहार दुवै अर्थमा शुन्य सहनशीलताको नीति अंगिकार गर्छ । तर यही राज्यको संविधान, ऐन र कानुनको परिधिमा रहनुपर्ने कलेजले निर्वाचन आयोग र न्यायालय जस्ता निकायले मानेका र स्वीकारेका विषय भन्दा बाहिर जान भने सक्तैन । यी निकायलाई कसरी स्वतन्त्र र पवित्र बनाउन सकिन्छ भन्ने विषयमा बहस हुन सक्ला तर यी निकायले गरेका र स्वीकारेका विधिसंमत निर्णयबाहिर गएर कसैलाई आक्षेप लगाउने र सामाजिक बहिस्करण गर्ने कार्य गर्न स्वाभाविक रुपमा कलेजले सक्तैन । उमेदवार हुने योग्यता निर्धारण गर्ने निर्वाचन आयोग र सम्मानित न्यायालयको अधिकारलाई हामीले सम्मान गर्नैपर्छ । प्राज्ञिक संस्थामा उपस्थित भएर कार्यक्रममा भाग लिने प्रत्येकले संस्थाको गरिमाको खातिर पनि यस्ता विषयमा ध्यान पु¥याउनुपर्छ भन्ने हामीलाई लाग्छ । कोही पनि दोषीले उन्मुक्ति पाउनु हुँदैन तर कसैमाथि व्यक्तिगत वा सामाजिक प्रतिष्ठामा आघात पुग्ने बोली र व्यवहार गर्दा त्यसका बारेमा गम्भिरतापूर्वक सोचिनुपर्छ भन्ने हामीलाई लाग्छ । यी विषयमा उपचार खोज्न राज्यका विभिन्न निकायहरू हुँदाहुँदै प्राज्ञिक संस्थालाई समेत विवादमा तान्ने गरी सृजित विवादप्रति हामी दुःख र खेद प्रकट गर्दछौं । आज भएको छलफल सफल बनाउने विद्यार्थीहरू विशेष धन्यवादका पात्र छन् । छलफल भएका विषयवस्तु विभिन्न सञ्चारमाध्यममा प्रकाशित प्रसारित गरिदिनुहुने सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति हामी आभारी छौं । भवदीय मादव प्रसाद न्यौपाने

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : १४ बजे