ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले काँग्रेस–माओवादीमा किचलो

ललितपुर । स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादै विवाद छ ।

गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।

माओवादी केन्द्रका नेता भगीरथ तिमल्सिनाले महालङ्का गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । काँग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमति विपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउनुहुन्छ ।

गठबन्धनको सहमति अनुसार महालङ्का गाउँपालिका–१ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिनाले बताउनुभयो । 

श्रेष्ठले भने यो विषयमा सहमति नभएको दाबी गर्नुभयो । “वडामा कुनै सहमति भएको थिएन । प्रक्रियामा थियो । अध्यक्ष नेपाली काँग्रेस उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति भने भएको हो”, उहाँले भन्नुभयो ।

बुधवारको बैठकपछि आ–आफ्नो पार्टीको विवाद मिलाउने सहमति भएको उहाँले बताउनुभयो ।

महालङ्कामा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध काँग्रेसका पालिका पदाधिकारीले सामूहिक राजीनामा दिनुभएको छ ।

त्यस्तै,  काँग्रेस वरिष्ठ उपाध्यक्ष सञ्जय लामा, वडा सभापति रामहरि दुलाल, कोषाध्यक्ष राजराम परियार र  सदस्य बलराम घिमिरेले राजीनामा दिनुभएको । 

बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहनुभएका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले काँग्रेस निर्णय विपरीत क्रमशः अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिनुभएको छ । काँग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिनुभएको हो । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ३३ बजे