एमालेका निम्ति गठबन्धन केही होइन : उपाध्यक्ष पौडेल

बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुङ्ग हुने टिप्पणी गर्नुभयो ।

“एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ”,  उहाँले भन्नुभयो । 

उहाँले एमाले नेतृत्वमा रहँदा सङ्घ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताउनुभयो ।

“कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठुलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन” उहाँले भन्नुभयो । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताउनुभयो। “टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्”, उहाँले भन्नुभयो ।

उहाँले कुनै पनि खालका भ्रम र आशङ्का नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।“‘रुपन्देहीको तिलोत्तमा देशकै नमुना नगरपालिका बनेको छ, त्यो एमाले नेतृत्वको स्थानीय सरकार भएको कारणले भएको हो, राम्रो काम गर्दागर्दै चुनाव हार्ने सम्भावनै रहँदैन” उपाध्यक्ष पौडेलले भन्नुभयो । 

उहाँले सत्ता गठबन्धन भित्रका धेरै नेता कार्यकर्ता एमालेमा आउन चाहिरहेको भन्दै यसको नतिजा चुनावपछि देखिने पनि बताउनुभयो । उपाध्यक्ष पौडेल केही दिनदेखि रुपन्देहीका स्थानीय तहहरूमा चुनावी माहौल बनाउन सक्रिय हुनुहुन्छ ।

एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताउनुभयो। 

पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह इन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौँ भन्नेहरूको सपना तुहिन लागेको बताउनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ३८ बजे