आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बुटवलमा साढे चार सय तोला सुन चोरी

बुटवल । बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । 

यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले आज मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाहिर आएको हो ।

बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रुपैयाँ समेत चोरी भएको सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशङ्कामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसन लगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो ।

सुनचाँदी व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले रुपन्देहीमा विगतमा पनि सुनचाँदी पसल फोरेर चोरी हुने गरेको भए पनि यो घटना अहिलेसम्मकै ठुलो भएको बताउनुभयो । 

उहाँका अनुसार रुपन्देहीको रानीबगियामा पनि केही समयअघि सुन पसल लुटपाटको प्रयास भएको थियो । त्यस क्रममा सुन लुट्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएको विश्वकर्माले बताउनुभयो । रुपन्देहीकै बुद्ध नगरमा पनि केही दिनअघि एक महिलाको सुन लुटिएको थियो ।

सुनचाँदी व्यवसायी सङ्घ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटक पटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताउनुभयो। “अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही नगर्दासम्म व्यवसायीले न्याय पाउँदैनन्”, उहाँले भन्नुभयो।

व्यवसायीहरूले पटक पटक सुन पसलमा चोरी हुँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको र सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । प्रहरीले भने सुन पसलमा चोरी गर्नेहरूको खोजी भइरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरूको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : २९ बजे