रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट एक्लियो एकीकृत समाजवादी

बुटवल । रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा(एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ ।

बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । 

समाजवादीले १५ वटै  स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

धेरैजसो पालिकामा गठबन्धनसँग पद बाँडफाँटमा कुरा नमिल्दा एकल रूपमा उम्मेदवारी दिइएको एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताउनुभयो । 

समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

तर, गठबन्धनमा आबद्ध अन्य दलले भने समाजवादीले हैसियतभन्दा बढी माग गरेकाले मिलेर जाने अवस्था नभएको बताएका छन् । 

समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा महिला उम्मेदवार उठाएको छ । नगरप्रमुखमा आशाकुमारी चौधरी र उपप्रमुखमा सञ्जीव भण्डारीले उम्मेदवारी दिनुभएको हो ।

त्यस्तै, देवदह नगरपालिका प्रमुखमा छवि भट्टराई, उपप्रमुखमा सरस्वती पोख्रेल, सिद्धार्थनगर नगरपालिका प्रमुखमा कुलेन्द्र पुन, सैनामैना नगरप्रमुखमा देवराज पोख्रेलले उम्मेदवारी दिनुभएको छ । 

त्यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिकामा सफिउर रहमान अन्सारीले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।

समाजवादीले सम्मरीमाई गाउँपालिका अध्यक्षमा अशोक कुमार शुक्ला, उपाध्यक्षमा पवित्राकुमारी निषाद, शुद्धोधन गाउँपालिका अध्यक्षमा केशवकुमार खड्का, उपाध्यक्षमा रिना हरिजन, कञ्चन गाउँपालिका अध्यक्षमा रामबहादुर विक, उपाध्यक्षमा पार्वती पौडेल ढकाल, सियारी गाउँपालिकामा श्रीराम यादव, मायादेवी गाउँपालिकामा कपिलमुनी यादवले उम्मेदवारी दर्ता गरेको जिल्ला सचिव अविराम विकले बताउनुभयो ।

उहाँका अनुसार १६ वटै स्थानीय तहमा वडाध्यक्षसहित सदस्यको मनोनयन भएको छ । बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै कतै माओवादी र जसपासँग गठबन्धन गरेको उपसचिव सरिता श्रीसले बताउनुभयो ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : २९ बजे