काँग्रेसका तर्फबाट रघुगंगा गाउँपालिका अध्यक्षका उम्मेदवार भण्डारी विरुद्ध उजुरी

​​​​​​​म्याग्दी । नेपाली काँग्रेसका तर्फबाट रघुगंगा गाउँपालिका म्याग्दीमा अध्यक्षका उम्मेदवार भवबहादुर भण्डारीका विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । 

गाउँपालिकाको कोषबाट जग्गा व्यवस्थापन लागि लगेको १ करोड ४२ लाख रुपैयाँ पेश्की रहेको, स्थानीयबाट गाउँपालिकाका लागि भनेर प्राप्त भएको २० रोपनी जग्गा मध्ये ५ रोपनी गाउँपालिकाका नाममा राखेर अन्य जग्गा आफ्नो नाममा दर्ता गराएको लगायतका आरोप लगाउँदै भण्डारी विरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको हो । 

नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार प्रेम बहादुर कार्की (दीपक बिखर्ची) र अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सागर भण्डारीले मङ्गलवार उजुरी दर्ता गराउनुभएको रघुगंगा गाउँपालिका निर्वाचन कार्यालयका अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिनुभयो । 

गाउँपालिकाको रकम व्यक्तिको नाममा खर्च गरेको भन्दै अध्यक्ष पदका २ जना उम्मेदवारले उजुरी दिएको र निर्वाचन कार्यालयले यस विषयमा छानबिन गर्ने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका भव बहादुर भण्डारीले गाउँपालिकाका लागि जग्गा व्यवस्थापन गर्न विनियोजन भएको रकमबाट आफ्नो नाममा जग्गा बनाएको आरोप अध्यक्षका उम्मेदवारहरूले लगाउनुभएको छ । 

दाताहरूले निःशुल्क रूपमा दिएको जग्गा गाउँपालिकाका नाममा ८ रोपनी र जग्गा दाताहरूलाई १२ रोपनी फिर्ता गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्षका रूपमा भण्डारीले ५ रोपनी गाउँपालिकाका नाममा राखी अरू जग्गा आफ्नो नाममा राखेको, पालिकाबाट लगेको रकम आफ्नो नाममा रहेको जग्गा व्यवस्थापनका लागि खर्च गरेको आरोप लगाइएको छ ।

सरकारी कोषबाट भएको खर्च र जग्गा व्यवस्थापन बमोजिम उक्त जग्गा भण्डारीको नामबाट सहजै गाउँपालिकालाई दिन सकिने हुँदा हुँदै पनि गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीको कार्यकाल सकिदा समेत स्वयंले आफ्नो नाममा जग्गा राखेर पालिकालाई हस्तान्तरण नगरेको साथै रघुंगंगा गाउँपालिकाबाट पेश्की दिइएको रकमको खर्च समेत पालिकाले प्राप्त गरेको जग्गामा नभै व्यक्तिको जग्गामा खर्च गरेको देखिएको हुँदा निज भव बहादुर भण्डारी स्थानीय तहको निर्वाचन २०७९ मा उम्मेदवार हुन अयोग्य भएको भन्दै खारेजीको माग गरिएको छ ।

​​​​​​​

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : २५ बजे