सत्ता गठबन्धनसँग एमालेको विरोध गर्ने कुनै राजनैतिक आधार छैन : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका तत्कालीन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको २३ औ स्मृति दिवस आज मनाइँदै छ । 

यस अवसरमा ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा रहेको स्वर्गीय अधिकारीको सालिकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गर्नुभएको थियो ।

त्यहाँ आयोजित समारोहमा अध्यक्ष ओलीले सत्ता गठबन्धनको कुनै राजनैतिक आधार नभएकोले गठबन्धनले एमालेको मात्र विरोध गरिरहेको आरोप लगाउनुभयो । उहाँले, आफ्ना विपक्षी दलहरूसँग विकासका कुनै ठोस एजेण्डा नभएकोले नै एमाले नेतृत्वको सरकारले गरेका विकासको विरोध गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका दलहरूले जारी गरेको चुनावी घोषणा पत्र गालीको पुलिन्दा मात्र भएको पनि आरोप लगाउनुभयो । २०५६ साल वैशाख १३ गते चुनावी प्रचारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएर स्वर्गीय अधिकारीको निधन भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : २५ बजे