आँखामा हाले पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता नभेटेको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले अधिकारीको २३ औं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,’ उहाँले भन्नुभयो ,‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो ।’

पार्टी स्थापना हुनु भन्दा अघि नै मजदुरको हक अधिकारकालागि लडेको र भारतबाट ब्रिटिश भगाउ आन्दोलनमा लागेको ओलीले बताउनुभयो ।

‘नेपालका कम्युनिष्ट मध्ये मनमोहन अधिकारी जेष्ठ कम्युनिष्ट हुन् । मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता मैले भेटेको छैन,’ उहाँले भन्नुभयो, ‘पार्टी स्थापना हुनु भन्दा अगाडि नै कम्युनिष्ट हुनुहुन्थ्यो ।’

अधिकारी महान उदेश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ । ‘उहाँले जीवनमा कहिले हतारो गर्नुभएन । आरामले काम गर्ने शैली थियो,’उनले भने,‘अलिअलि हतारो नगर्ने उहाँको शैली म मा पनि छ ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : १९ बजे