गठबन्धनका उम्मेदवारमा शीर्ष नेताका छोरा, छोरी र श्रीमती

काठमाडौं ।  सत्ता साझेदार दलरुहरुले निर्माण गरेको गठबन्धनले तीन महानगरका तीन पदमा नेताको परिवारभित्रबाट उम्मेदवार चयन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा सहितको गठबन्धनले ६ महानगरमा प्रमुख र उपप्रमुख गरी १२ वटा पदको भागबन्डा गरेकामध्ये काठमाडौं र भरतपुर महानगरपालिकाका मेयर र विराटनगर उपमहानगरपालिकाका उपमेयरमा गठबन्धनमै आबद्ध शीर्ष नेताहरूकै परिवारका  सदस्यहरू परेका छन् ।

गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको श्रीमती सिर्जना सिंह छिन् ।सक्रिय राजनीतिमा नरहेकी सिंहले महानगरको मेयर पाउनुमा श्रीमान् प्रकाशमान सिंहको जोडबल नै देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको महाधिवेशनमा सिंहले गरेको सहयोगको गुन तिर्न देउवाले स्थानीय तहको निर्वाचनमा सिंहलाई  सहयोग गरेका हुन् ।

त्यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई विरोधका बाबजुद गठबन्धनका शीर्ष नेताको सहमति र प्रचण्डको छोरी मोहकै कारण रेणुलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएको हो । प्रचण्डले माओवादी केन्द्रका लागि भन्दा पनि छोरी रेणुका लागि बार्गेनिङ गरेको कुरा छरपस्ट भइसकेको छ  ।

स्थानीय तहमा प्रमुख र उपप्रमुखको पदमा उम्मेदवारी दिँदा एक महिला हुनै पर्ने संवैधानिक मान्यतालाई बेवास्ता गर्दै गठबन्धनले विराटनगरमा दुवै पदमा पुरुष उम्मेदवार दिएका छन् जसमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उपमेयरको  टिकट पाएका छन् ।आफ्ना छोरा अमरेन्द्रलाई उम्मेदवार बनाउनकै निम्ति उपेन्द्रले विराटनगर आफ्नो पार्टीले  पाउनुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ३४ बजे