तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उहाँले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । 

यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिनुभयो।

उम्मेदवारी दर्ताका लागि एमालेको टोली बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेको थियो । त्यसअघि, नेकपा एमालेका उपमहासिचव विष्णु पौडेलले मेयर, उपमेयरलगायत सबै उम्मेदवारलाई शुभकामना दिनुभएको थियो ।

त्यसक्रममा उहाँले एमालेले सात सय ५३ स्थानीय तहमध्ये ६० प्रतिशतमा विजयी हासिल गर्ने दावी गर्नुभयो। तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उहाँले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको बताउनुभयो। 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : १० बजे