एमालेले टुङ्ग्यायो भक्तपुरको प्रमुख र उपप्रमुखको उम्मेदवारी, प्रमुखमा पुरानै दोहोरिए

भक्तपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले भक्तपुरले नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख र उपप्रमुख टुङ्ग्याउन गाह्रो  परेपछि धुलिखेलमा बसेको बैठकले टुङ्ग्याएको हो ।

बैठकले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याउने निर्णय गरेको छ । अब सूर्यविनायक नगरपालिकाको प्रमुखमा पुनः वासुदेव थापालाई उठाएको छ भने उप प्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरि मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा एमालेले पुरानै उम्मेदवारलाई मदन सुन्दर श्रेष्ठलाई पुन दोहोर्‍याउने निर्णय गरेको छ भने उप प्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी बिना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने बैठकले  निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाईँ खर्बुजालाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले  बताउनुभएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : २७ बजे