‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गठबन्धनको हुकुमी चुनावी तालमेल : निराश कार्यकर्ता

स्थानीय निर्वाचनको समय नजिकिँदै छ, दलहरू उम्मेदवार छनोटमा व्यस्त छन् । उम्मेदवारका आकाङ्क्षीहरू आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दबाब सिर्जना गर्दैछन् । 

यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतःस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरू सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरू हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । 

हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरूमा नैराश्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरू भित्र भित्र मुरमुरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावनाभन्दा पनि मुख्य तीन ठुला नेताको जुँगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

२०७४ को निर्वाचनबाट थला परेको काँग्रेसका सभापति शेर बहादुर देउवाले सोच्दै नसोचेको प्रधानमन्त्री पद परमादेशबाट किस्तीमा उपहार पाए, त्यो उपहारलाई थप ६ महिना लम्ब्याउन र यही बलमा आगामी सङ्घीय निर्वाचन जितेर पुन प्रधानमन्त्री बन्ने गुलियो आशामा छन् र उनले जस्तो सुकै तालमेल गर्न तयार छन् । 

पार्टीका नेता कार्यकर्ताले गलत भयो है भन्नै हुँदैन, उनले झपारी हाल्छन्, एक्लै लडेर चुनाव जितिन्छ, ओलीका अगाडि टिकिन्छ ? तिम्रो अवस्था मलाई थाहा छैन भन्छन् । २०७४ को निर्वाचनको हिसाब किताब देखाइहाल्छन् । उनका अगाडि कसैले प्रतिवाद गर्ने अवस्था देखिँदैन । आज हैन भोलिलाई उनी गठबन्धन जोगाउने ध्याउन्नमा छन् । पार्टी के हुन्छ, कार्यकर्ता के हुन्छन्, आफू के हुन्छु भन्ने पनि उनलाई चिन्ता छैन, उनी ६ महिने प्रधानमन्त्रीका लागि अरू जे सुकै त्याग्न तयार छन् ।

दोस्रो पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो गठबन्धन जसरी पनि जोगाउन उद्धत छन् । उनी अवस्था अनुसार रङ्ग फेर्न सक्ने नेता हुन्, निर्वाचनमा र सत्ता साझेदारीमा कहाँ कसरी कोसँग मिल्दा फाइदा हुन्छ त्यो राम्ररी ख्याल गर्न सक्ने नेतामा गणना गर्न सकिन्छ प्रचण्डलाई । 

संविधान निर्माणपछि सुशील कोइरालाको सरकार ढलाएर एमालेसँग सहकार्य गरे, एमाले सरकार ढलाएर देउवासँग सहकार्य गरे, देउवासँगै सहकार्य भइरहेको समयमा एमालेसँग चुनावी तालमेल गरेर एउटै घोषणापत्रमा चुनाव लडे, पार्टी एकता गरे, एमाले कब्जा गर्न खोजे, ओलीले उनको चाल बुझेर थप चाल चलेपछि उनी फेरी गठबन्धनका नाममा आफ्नो रोटी सेक्दै छन् । राजनीतिक रूपमा उनी यति बेला सङ्कटमा छन् । 

शान्तिपूर्ण राजनीति अर्थात् खुल्ला राजनीतिमा आउँदाको बाघ प्रचण्ड यति बेला बार्गेनर स्यालको भूमिकामा छन् । आफ्नै कारण दिन प्रतिदिन खुम्चिएका उनी यति बेला गठबन्धनको नाममा आफ्नो प्रभाव बढाउने योजनामा छन् । 

धाक धम्की, घुर्की के लगाएर हुन्छ उनी आफू पावरमा बसिरहने, किङ मेकर बनिरहने ध्याउन्नमा छन् । पार्टी के होला ? भोलि सङ्गठन कसरी चल्ला ? के गर्दा आगामी दिनमा सिङ्गो पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्दा पनि उनी जहिले पनि किङ मेकर बनिरहने, यता कि उता आड लाएरै भए पनि प्रचण्ड बिना सत्ता गारो छ ? भन्ने सन्देश दिन चाहन्छन् । भलै नेकपा माओवादीको तल्लो पङ्क्ति वामपन्थीसँगको सहकार्यमा जोड दिन्छ तर प्रचण्ड तलको कुरा सुन्न तयार छैनन्, कम्तीमा यो स्थानीय निर्वाचन उनले गठबन्धन बाहेकसँग सहकार्य गर्नै नपाउने नीति नै पास गराएका छन् ।

गठबन्धनका लागि अर्का मरिहत्ते गर्ने पात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुन् । हेर्दा सालिन, बोल्दा सरल तर व्यवहारमा अत्यन्तै कुण्ठाग्रस्त मानसिकताका शिकारी नेपालकै कारण आज मुलुकमा अस्थिरता पैदा भएको छ । 

प्रचण्डलाई उनले केपी ओलीको विरुद्धमा नउचालेको भए, आफ्नै पार्टीको सरकारका विरुद्ध परमादेश गराउने योजना नबनाएको भए आज उनी हाइ हाइ हुन्थे, तर उनको कुण्ठाले त्यो सम्झेन, उनी आफू कहाँ जान्छु, के हुन्छु भन्दा पनि केपी ओली र एमालेको पत्तासाफ भएको हेर्न चाहन्छन् । जसका कारण उनले माओवादी र काँग्रेसको बीचमा पुलको काम गरिरहेका छन् । देउवा सरकार निर्माणको मुख्य सारथि भएको भन्दै धम्की, घुर्की लाएरै भए पनि विगतमा एमालेले जितेको ठाउँमा आफ्नो दाबी प्रस्तुत गर्दैछन् । हाम्रो सबैभन्दा ठुलो शक्ति विद्रोह हो भन्दै उनी हैसियत नखोज्न चेतावनी दिँदै हिँडेका छन् । उनलाई देश, पार्टी, स्थिरता केहीसँग चासो छैन, केवल एमालेलाई साइजमा ल्याउने र खुच्चिङ गर्ने चाहना छ ।

मुख्यतः यी तीन पात्रका स्वार्थले यति बेला मुलुक अन्यौलतामा छ, अहिले जति अन्यौलता छ यिनले निर्वाचन जितेर आउँदा झन् अन्यौलता बढ्ने निश्चित छ । यी तीन पात्र २०५९ सालमा स्थानीय निकायलाई विघटन गर्ने कार्यका पनि प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुन । 

यिनीहरूकै कारण स्थानीय निकाय भङ्ग भएर २० वर्ष भागबण्डामा स्थानीय निकाय चल्यो, सर्वदलीय नाममा गाविस चलाउने भूमिका पनि यिनकै हो । देउवा स्थानीय निकाय भङ्ग गरेर केन्द्रबाट शासन गर्न चाहने, प्रचण्ड स्थानीय निकाय भङ्ग गरेर गाउँ जनसरकार चलाउने, नेपाल स्थानीय तह भङ्ग हुँदा पनि विपक्षी दलको हिसाबले आन्दोलित हुन नसक्ने, सर्वदलीय संरचनामा रमाउने प्रवृत्तिका कारण हिजो जुन अन्यौलता सिर्जना भयो । आज फेरी यिनै तिन पात्रका कारण मुलुक अस्थिरतातर्फ जादैछ ।

वर्तमान राजनीतिका यी तीन खेलाडी हुकुमी चुनावी तालमेल गरेर फेरी अस्थिरता मच्चाउने योजनामा छन् । स्थानीय स्तरमा जनताको भावनाको त कुरै नगरौँ कार्यकर्ताको भावनामा समेत यिनीहरूले ध्यान दिएका छैनन् । माथिबाट निर्णय भएपछि सकियो भन्ने सन्देश यिनका आसेपासेले गर्दैछन् । गठबन्धनका नाममा स्थानीय स्वायत्ततालाई यिनीहरूले निचोर्दै छन् । स्थानीय स्वायत्तता यिनको हुकुमको गुलामी बन्दै छ ।

यिनीहरूसँग मुलुक निर्माणको कुनै योजना छैन, कार्यक्रम छैन, दृष्टिकोण छैन, कसरी मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने कुरा यिनको डायरीमा छैन, यिनको डायरीमा त ७ सय ५३ पालिकामा भागबण्डा कसरी गर्ने भन्ने मात्रै छ । सरकार कसरी चलिरहेको छ, मुलुकको आर्थिक अवस्था कहाँ पुगेको छ, तरलताका कारण बैङ्क तथा वित्तीय संस्था र सहकारी कस्तो अवस्थामा छन्, जनतालाई महँगीले कसरी ढाड सकेको छ, यातायातमा मूल्य बढेर यात्रा कति असहज भएको छ, शिक्षामा शुल्क बढेर विद्यार्थी र अभिभावकलाई कति मर्का परेको छ यी विषयमा हुकुमी गठबन्धन बेखर छ ।

मुलुक आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुग्दा पनि यिनलाई मुलुकको चिन्ता छैन, केवल भागबण्डा यिनको मानसपटलमा छ, कसरी ओलीलाई समाप्त पार्नेभन्दा यिनको अर्को सोच नै छैन । हिजो केपी ओलीलाई सफल हुन नदिने पात्रहरू आज देउवालाई रमिते बनाउदैछन्, ओलीसँग भागबण्डा नमिलेपछि देउवा समातेकाहरू आज काँग्रेसलाई नै अनिर्णयको बन्दी बनाउँदै छन् ।

चुनावमा दलहरुबीच तालमेल हुनु नौलो कुरा होइन । तर स्थानीय आवश्यकता के हो ? स्थानीय जनताको भावना के हो ? कार्यकर्ता के भन्छन् भन्ने सोचेर सम्झेर तालमेल हुने कुरा राम्रो हो । केन्द्रले के निर्देशन दिन्छ, त्यही अन्तिम हो भन्ने दलहरूको व्यवहारले अन्ततः स्थानीय तहलाई स्वतन्त्र हुन नदिने पक्का छ ।

हुकुमी चुनावी तालमेलले विशेष गरी काँग्रेस कार्यकर्तामा ठुलो असर पर्ने वाला छ, एक्लै जित्न सकिने स्थानमा समेत काँग्रेसले गठबन्धनका नाममा अरूलाई सहयोग गर्नु पर्ने बाध्यता छ । जीवनभर काँग्रेसलाई मत दिएका कार्यकर्ताहरू अमिलो मन बनाएर अन्य चिन्हमा मतदान गर्न जानुपर्ने बाध्यतामा छन् । काँग्रेस दुबिधाग्रस्त मनस्थितिमा चुनावमा होमिँदै छ । काँग्रेसका नेता कार्यकर्तामा चुनावप्रति खास चासो देखिएको छैन । हिजो आफैलाई सामन्तको उपाधि दिएर गाउँ निकाला गरेकाहरूको प्रचारमा गाउँमा हिँड्न काँग्रेस कार्यकर्तालाई कम्ता कठिन छ, फेरी पनि बाध्यता छ, माथिबाट हुकुम बक्स भएको छ, यता उता नगर्नु हिजोको कुरा बिर्सनु ।

यो निर्वाचन गठबन्धनका लागि सजिलो छैन, गठबन्धनका नेताहरू ७५३ पालिकामा भागबण्डा गरिरहँदा एमाले अध्यक्ष ओली प्राय सबै जिल्ला पुगेर नेता कार्यकर्ता र आम समुदायसँग साक्षात्कार गरिरहेको थियो । जिल्ला जिल्लामा गठबन्धनमा रहेका दलहरू कुन पालिका कुन पार्टीलाई भनेर भाग मिलाउन व्यस्त रहँदा एमालेका नेता कार्यकर्ता गाउँमा जनताका बीचमा मत माग्न पुगिसकेका छन् । हिजो ओलीको विरोध गर्ने नागरिक समाज, बौद्धिक व्यक्तित्वहरू यति बेला हिजो ओलीलाई गाली गरेर गलत गरेछौँ भन्दै एमालेको समर्थनमा माहौल बनाउन जुटिसकेका छन् । 

जनतालाई छिटो आकर्षित गर्ने कलाकारहरू परमादेशको गठबन्धन फालौँ, यसपालि त सूर्यमा भोट हालौँ भनेर कुर्लन थालिसकेका छन् । युवा विद्यार्थी, महिलाहरू आफ्नो काम धन्दा थाँती राखेर एमाले जिताऊ अभियानमा जुटिसकेका छन् । 

गाउँ गाउँमा बुद्धिजीवी, समाजसेवीहरू समृद्धिको सपना देख्ने ओलीको खोजी गरिरहेका छन्, युवा विद्यार्थी र महिलाहरू एमाले जनताको साथी भन्दै टिकटकमा जुटेका छन् ।  यस्तो अवस्थामा गठबन्धनको हुकुमी चुनावी तालमेलको खासै अर्थ छैन । स्थानीय तहको आवश्यकताभन्दा पनि माथिको ठाडो निर्देशनले अन्ततः गठबन्धनलाई नै क्षति पुग्ने निश्चित छ ।  

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ४८ बजे