राष्ट्रपति भवनमा घटस्थापना

गोरखामा गठबन्धन: केन्द्रको निर्णय लत्त्याउने तयारीमा काँग्रेस, बोलायो आकस्मिक बैठक 

गोरखा । केन्द्रले टुङ्ग्याएर पठाएको भागबण्डालाई स्वीकार गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न गोरखामा नेपाली काँग्रेसले आकस्मिक बैठक बोलाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको जिल्ला स्तरीय संयन्त्रले भागबन्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले शनिवार साँझ बैठक बसेर निर्देशनात्मक भागबन्डा गरेर पठाएका थिए ।

शनिवार आठौँ पटक बसेको जिल्ला स्तरीय संयन्त्रको बैठकले भागबन्डा मिलाउन नसकेपछि केन्द्रमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपाका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखामा भागबन्डा मिलाउनुभएको थियो ।

केन्द्रीय नेताले गोरखामा काँग्रेसलाई एक नगरपालिकासहित पाँच, माओवादीलाई चार र जसपालाई एक नगरपालिकासहित दुई पालिका प्रमुखमा उम्मेदवारको भागवण्डाको निर्णय गर्नुभएको थियो । तर, केन्द्रले निर्णय गरेर पठाएको भागबण्डालाई स्वीकार गरेर जाने या नजाने भन्ने विषयमा छलफल गर्न गोरखामा संयन्त्रका प्रमुख दल नेपाली काँग्रेसले बिहान आकस्मिक बैठक बोलाएको छ ।

“केन्द्रको निर्णय मान्ने या नमान्ने भन्ने विषयमा छलफल गरेर निर्णय गर्न बैठक बस्न लागेको हो । जिल्लामा अहिलेसम्म अधिकांश नेताको चाहना केन्द्रको हस्तक्षेप स्वीकार नगर्ने भन्ने नै छ । केन्द्रीय निर्देशन विपरीत जाने निर्णय हुनसक्ने सम्भावना उच्च छ”, काँग्रेसका एक नेताले भन्नुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : १७ बजे