राष्ट्रपति भवनमा घटस्थापना

एमालेले चितवनमा टुङ्ग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल

चितवन । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । 

मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवारिको टुङ्गो लगाएको हो ।भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दै छ । भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेको हो ।

भरतपुरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेको छ ।

एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिका प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । खैरहनीको प्रमुखमा एमालेले फेरि चौधरीलाई नै उठाउने भएको हो । 

रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । 

एमालेले रत्ननगरको प्रमुखमा उपप्रमुख भएर एक कार्यकाल काम गरेकी दुवाडीलाई उठाउने भएको हो ।  माडी नगरपालिकाको प्रमुखमा एमालेले ताराकाजी कुमारी महतोलाई उठाउने भएको छ । महतोले पनि एक कार्यकाल नगर उपप्रमुख भएर काम गरिसक्नुभएको छ  ।

ईच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेको छ । आज पालिका वडाध्यक्षको टुङ्गो लाग्ने बताइएको छ ।

राप्रपाले पाएको भरतपुर र माडीको उपप्रमुखमा भने अझै टुङ्गो लागिसकेको छैन । त्यसका लागि राप्रपा आन्तरिक छलफलमै छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ५३ बजे